टाइगर कपको महिलातर्फको उपाधि एपीएफलाई
टाइगर कपको महिलातर्फको उपाधि एपीएफलाई
    • Bell Sanchar

    • १४ माघ २०७९, शनिबार

पोखरा । पोखरामा सञ्चालित टाइगर कप भलिबलको महिलातर्फको उपाधि विभागीय टोलीले हात पारेको छ । अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले दोस्रो पटक उपाधि जितेको हो ।

एपीएफले आर्मीलाई पहिलो सेटमा २५–२० को स्कोरमा पराजित गर्‍यो । दोस्रो सेटमा भने आर्मीले एपीएफमाथि २५–२२ को जित निकाल्यो ।

तर, तेस्रो सेटमा २५–८ र चौथो सेटमा २५–२२ को स्कोर निकालेपछि एपीएफ विजयी भयो । उपाधिसँगै एपीएफले ५ लाख रुपैयाँ र उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयाँ पाएको छ ।

गुमायो आर्मीले अवसर

डिफेन्डिङ च्याम्पियनसमेत रहेको एपीएफ र आर्मी गत वर्ष सञ्चालित टाइगर कपको दोस्रो संस्करणमा पनि फाइनलमा भिडेका थिए । त्यतिबेला एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै च्याम्पियन बनेको थियो । यसपटक आर्मीलाई बदला  लिने अवसर थियो तर एपीएफले नै दुबै पटक जित हासिल गर्‍यो ।

महिलातर्फ न्यू डायमन्डले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित तेस्रो स्थान सुरक्षित गर्‍यो । न्यू डायमण्डले १ लाख २५ हजार रुपैयाँ र चौथौं गण्डकी प्रदेशले ६५ हजार रुपैयाँ पाएको छ ।

अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिएको गण्डकीको महिला टोली प्रतियोगिताकै कमजोर टिमसमेत बन्यो । टिममा ३ जना भारतीय राष्ट्रियस्तरका खेलाडीसमेत सम्मिलित थिए । तर, ४ टिम सहभागी खेलमा गण्डकीले घरेलु मैदानमै कुनै पनि खेल जित्न सकेन ।

पुरुषतर्फ पुलिस तेस्रो

टाइगर ग्रुप अफ पोखराले आयोजना गर्दै आएको महिला पुरुष टाइगर कपको पुरुषतर्फ नेपाल पुलिस क्लबले तेस्रो स्थान हात पारेको छ ।

पुलिसले साविक विजेता त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । पोखरा रंगशालााको भलिबल कोर्टमा तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आर्मीले पहिलो सेट २५–२२ अंकको जित निकाल्यो ।

तर, त्यसपछिका ३ सेट लगातार गुमाउन पुग्दा चौंथोमा सीमित हुन पुग्यो । पुलिसले दोस्रो सेट १८–२५, तेस्रो सेट २१–२५ र चौथो २०–२५ अंकले जित निकाले हो ।
तेस्रो भएको पुलिसले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ । चौथो भएको आर्मीले ६५ हजार रुपैयाँमा पाएको छ ।

साताकाे चर्चित
सम्बन्धित