गण्डकीले जित्यो टाइगर कपको उपाधि
गण्डकीले जित्यो टाइगर कपको उपाधि
    • Bell Sanchar

    • १४ माघ २०७९, शनिबार

पोखरा । पोखरामा सञ्चालित टाइगर कपको तेस्रो संस्करणको उपाधि गण्डकी प्रदेशले जितेको छ । घरेलु मैदानमा दर्शकको समर्थनमा गण्डकीले विभागीय टिम एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि रक्षा गर्न सफल भयो ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो । खेलको पहिलो सेटमा एपीएफले २५–१६ अन्तरले जित निकालेको थियो । दोस्रो सेटमा गण्डकीले २५–१८ ले जित निकाल्यो । तेस्रो सेट पनि गण्डकीले २५–१९ अंकले जित्यो ।

निकै प्रतिस्पर्धात्मक चौथो सेट एपीएफले २८–२६ ले जित्यो । तर, खेलमा खेलाडीले सुखद अनुभव भने लिन पाएनन् । खेल लगातार बराबरी अंकमा अघि बढ्न थालेपछि गण्डकी समर्थक दर्शक उत्तेजित बने ।

प्रतिस्पर्धात्मक खेलमा खेलाडी र दर्शक दुवैले संयमता गुमाउन पुग्दा एपीएफ र गण्डकी समर्थक दर्शकबीच आपसमा बोत्तल हानाहानको स्थितिसमेत बनेको थियो । तनावग्रस्त स्थिति नियन्त्रणमा लिन आयोजकलाई हम्मेहम्मे परेको थियो भने केहीबेर खेल रोकिन पुगेको थियो । खेलको अन्तिम सेट गण्डकीले १५–८ को फराकिलो अन्तरले जित निकालेसँगै तेस्रो संस्करणको टाइगर कपको उपाधि जित्न सफल रह्यो । प्याराफिटभरि करिब ३ हजारको संख्यामा रहेका दर्शकको हुटिङसँगै गण्डकीले उपाधि हात पार्‍यो ।

योसँगै गण्डकी टाइगर कपको दोस्रो पटक विजेता बनेको छ । पहिलो संस्करणमा गण्डकीले आर्मीलाई ३–२ ले हराउँदै उपाधि चुमेको थियो । दोस्रो संस्करणमा त्रिभुवन आर्मी क्लबले हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको थियो ।

यसवर्ष सञ्चालित तेस्रो संस्करणमा भने साविक विजेता आर्मी तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिससँग पराजित हुन पुग्यो । शनिबार बिहान भएको खेलमा पुलिसले साविक विजेता त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान सुरक्षित गरेको थियो ।

शनिबार नै भएको टाइगर कपको महिलातर्फको उपाधि उपाधि विभागीय टोली एपीएफले हात पारेको छ । अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै उसले दोस्रो पटक उपाधि चुम्न सफल रह्यो ।

प्रतियोगिताका विजेता महिला तथा पुरुष दुवै टिमले समान ५/५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँमा प्राप्त गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित