५० लाखको योजना अनिवार्य गण्डकी गाउँपालिकाका प्रत्येक वडामा
५० लाखको योजना अनिवार्य गण्डकी गाउँपालिकाका प्रत्येक वडामा
    • Bell Sanchar

    • १८ माघ २०७९, बुधबार

गोरखा । गण्डकी गाउँपालिकाले साना योजनामा बजेट घटाउन प्रत्येक वडाले कम्तीमा ५० लाख रुपैयाँको एउटा योजना अनिवार्य छनोट गर्नुपर्ने नियम बनाएको छ ।

साना–साना योजनामा भएको खर्च परिणाममुखी नभएकाले ठूला योजना छनोट अनिवार्य गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले बताए । ‘गत सालको बजेट किताब हेर्दा पालिकामा ७ सय ३६ योजना रहेछन्, त्यसमा पनि अधिकांश टुक्रे,’ उनले भने, ‘अहिले हामीले घटाएर ४ सय ८६ वटा योजना मात्र बनाएका छौ ।’

धेरै योजनामा रकम छुट्याउँदा त्यस्ता काम दिगो र परिणाममुखी नहुने भएकाले साना साना योजना घटाउन थालिएको उनले बताए ।

गण्डकी गाउँपालिकामा ८ वटा वडा छ । यस वर्ष प्रत्येक वडालाई एक करोड १० देखि ३५ लाख रुपैयाँसम्म रकम विनियोजन गरिएको छ । उक्त रकममध्ये कम्तीमा एउटा योजना ५० लाख रुपैयाँको योजनामा खर्च गर्नुपर्नेछ । ‘एक वडा एक गौरवको योजना’ घोषणा गरेर ५० लाख रुपैयाँको एउटा योजना अनिवार्य गरिएको पालिका अध्यक्ष तिमिल्सिनाले बताए ।

‘२०७९/८० को बजेट सभाबाट निर्णय ग¥यौं, त्यही निर्णय अनुसार अहिले सबै वडामा ५० लाखको योजना छनोट भएर काम अघि बढेको छ,’ उनले भने । सबै वडाले सडक स्तरोन्नतिको योजनामा ५० लाख छुट्याएको उनले जानकारी दिए ।

वडा नं १ मा मकैसिं मूल सडक स्तरोन्नतीको काम अघि बढेको छ भने वडा नं २ मा दलभञ्ज्याङ कुवापानी पातीस्वाँरा हुदै सादी खोला नाला र सडक स्तरोन्नति सुरु भएको छ । वडा नं ३ मा भलायडाँडा पुण्यगाउँ आमडाँडा ठुलोफाँट सडक स्तरोन्नतिको काम भइरहेको छ ।

वडा नं ४ ले गैरीचौतारादेखि पौवा हुँदै पुरानो गाउँसम्म नाली एवं सडक स्तरोन्नति, वडा नं ५ ले छोटेचार रामपुर सानो दर्बुङ लाङ्घालीचोक सडक स्तरोन्नति र वडा नं ६ ले पल्लोटार गणई देवीथान हुदै कोराक सडक स्तरोन्नतिका योजना छनोट गरेर रकम विनियोजन गरेको पालिकाले जनाएको छ ।

वडा नं ७ ले जलविरे खोला ज्यामिरेघाट कौदी सडक र वडा नं ८ ले धवादीघाटबाट वडा कार्यालय हुदै तेर्से कोराकगाउँ बेनिगाउँ सडक स्तरोन्नतिको योजनामा बजेट बिनियोजन गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित