सुर्खेत । राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेशको मन्त्रिपरिषदमा महिला र दलित समुदायबाट प्रतिनिधित्व गर्ने एकल पात्र बनेेकी छिन्, उर्मिला विक ।
मुख्यमन्त्री शर्माले ११ माघमा चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए ।
मन्त्रीहरुले प्रदेश प्रमुखसमक्ष शपथ लिएर बाटो लागेको करिब ४५ मिनेटपछि मुख्यमन्त्री शर्माले मन्त्रिपरिषदलाई समावेशी बनाउने भन्दै माओवादी प्रदेशसभा सदस्य उर्मिला विकलाई राज्यमन्त्री नियुक्त गर्न सिफारिस गरे । सोही दिन साँझ नै शपथ भयो ।
विकलाई भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । माओवादी केन्द्रकै मंगलबहादुर शाही भौतिक पूर्वाधार, उ,र्जा तथा जलस्रोतमन्त्री छन् ।
उर्मिलाका अनुसार उनलाई पार्टीका नेताहरुले मन्त्री बनाउने आश्वासन दिएका थिए । अन्तिममा राज्यमन्त्री प्रस्ताव गरेपछि सुरुमा त शपथ नलिने अडानमा बसिन् । ‘प्रदेश अध्यक्ष कमरेड, उपमहासचिव कमरेडलगायतले फोन गर्न थालेपछि गएर शपथ लिएँ,’ उनले अनलाइनखबरसँग भनिन् ।
२०५१ सालमा माओवादीको विद्यार्थी फाँटबाट राजनीतिमा आएकी उर्मिला समानुपातिकको दलित महिला कोटाबाट प्रदेशसभा सदस्य बनेकी हुन् ।
२८ वर्ष कम्युनिस्ट आन्दोलन र उत्पीडन विरोधी संघर्ष गरेकी उनी भन्छिन्, ‘हिजो विभेदकारी राज्यविरुद्ध लड्न यही पार्टीले सिकायो । आज कता-कता उसैले उत्पीडित वर्गलाई न्याय गर्न नसकेको महसुस भएको छ ।’ यद्यपि पार्टीको समस्या भन्दै चित्त बुझाएकी छन् ।
माओवादीको सशस्त्र द्वन्द्वका बेला पटक-पटक ‘मरेर बाँचेको’ बताउँछिन् उनी । शरीरमा अझै गोलीका छर्रा बोकेर हिँडिरहेको बताउने राज्यमन्त्री उर्मिला भन्छिन्, ‘६ महिनाको दूधे बच्चा च्यापेर भूमिगत भएँ । त्यसपछिका दिनमा निकै दर्दनाक संघर्ष गरियो ।’
दुधेबालक च्यापेर जनयुद्धमा
४४ वर्षअघि रुकुम पश्चिम, आठबिसकोटको स्यालाखदीमा जन्मिएकी उर्मिला विकको विवाह सानै उमेरमा डोल्पाको त्रिपुरासुन्दरीमा भयो । श्रीमान् रामलाल विश्वकर्मा स्थायी शिक्षक थिए । विवाहपछि उनी जुफालको आदर्श माविमा पढ्न थालिन् ।
शिक्षण पेशा छाडेर माओवादीमा लागेकी सत्या पहाडी २०५१ सालमा जुफाल आइपुगिन् । आदर्श माविमा उर्मिला नै संयोजक रहेको १३ सदस्यी विद्यार्थी संगठन बन्यो । क्रान्तिकारी विद्यार्थी संगठनको संयोजक बनेपछि उनले माओवादी को हुन् भनेर सोधखोज गर्न थालिन् । ‘उनीहरु धनी र गरीबबीचको खाडल पुर्न लडिरहेको थाहा पाएँ,’ उनी भन्छिन् ।
अब संगठनमा उनको सक्रियता बढ्न थाल्यो । विद्यालयमा राजनीतिक-सांस्कृतिक कार्यक्रमहरु हुन थाले । ०५४ मा उनका श्रीमान् रामलाल विश्वकर्मा जागिर छाडेर भूमिगत भए ।
‘त्यसपछि प्रहरीले कहिले राति २ बजे उठाएर केरकार गर्ने, कहिले माओवादी पालेको भन्दै हिरासतमा राख्ने, यातना दिने, तारिख बोकाउने गर्न थाल्यो’, उनी भन्छिन्, ‘छोरा ६ महिनाको मात्र थियो । सरकारको दमन असह्य भएपछि आफू पनि भूमिगत भएँ ।’
उर्मिलालाई पार्टीले २०५६ मा सदस्यता दियो । पार्टीले ०५७ असोज ६ गते डोल्पा जिल्ला सदरमुकामा दुनै बजार कब्जा गर्यो । माओवादीले सदरमुकाम कब्जा गरेको त्यो नै पहिलो घटना थियो ।
‘आँधीहुरीले भरिएका दिन थिए ती । आज एउटा गाउँमा बास हुन्थ्यो, भोलि अर्को गाउँमा । कैयौं रात ओडारमा बिते । भोकभोकै थुप्रै पहाड छिचोल्यौं,’ उर्मिला भन्छिन्, ‘त्यो बेला एउटा छुट्टै जोश, जाँगर र सपना थियो । डोल्पापछि जाजरकोट उपव्यूरोमा पार्टीको काम गर्न थालेँ ।’
त्यतिबेला जाजरकोट, डोल्पा र रुकुम जिल्ला उपव्यूरोमा गनिन्थ्यो । जिल्लाभरका मानिसलाई माओवादी आन्दोलनको उद्देश्य बुझाउँदै सदस्य बनाउने जिम्मेवारी थियो उनको । उनी माओवादीको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) डोल्पा जिल्ला सदस्य, सचिव हुँदै अध्यक्ष बनिन् ।
माझफाल भिडन्त
डोल्पाको माझफालमा ‘नयाँ छलाङ्ग’ नामक अभियान चलेको थियो । गाउँ-गाउँ गएर जनतालाई प्रशिक्षण (जनयुद्धबारे बुझाउने, सांस्कृतिक कार्यक्रम गर्ने) दिन पर्थ्यो । ६ भदौ २०५८ को साँझ उर्मिलाको समूह साँस्कृतिक कार्यक्रम गर्न दुनैबाट माझफाल गयो ।
‘कार्यक्रम स्थलमा हाम्रो सेनाले पहरा दिइरहको थियो, तर भदौरे झरी र बाक्लो कुहिरोमा केही देखिएनछ’, संघर्षका दिन सम्झिँदै उनी भन्छिन्, ‘शाही सेनाले सी आकारमा हामीलाई घेरिसकेको पत्तै भएन । उनीहरुले अकस्मात गोली चलाएपछि भागाभाग भयो ।’
उर्मिला पनि अन्दाधुन्द भागिन् । उकालो भाग्दै गर्दा अलि माथि पुगेपछि पछाडीबाट परर गोली चल्यो । उनको पछिपछि आइरहेकी साथी ढलिन् । उनको पनि बायाँ खुट्टाको माथिल्लो भागमा गोली लाग्यो । भाग्दै ओडारमा पुगेर ढलिन् । ‘पछि साथीहरुले भेट्दा मेरो धेरै रगत बगिसकेको थियो, तैपनि उपचार गरेर बचाए’ उनले सुनाइन् ।
माझफालमा ८ जना माओवादी कार्यकर्ताले ज्यान गुमाए । उर्मिलासहित ४ जना घाइते भए भने ५ जना पक्राउ परे ।
अस्थिर राजनीतिले भोेगेको क्षती
नेपाल सरकारसँग वृहत शान्ति सम्झौता भएपछि तत्कालीन नेकपा माओवादीले आफ्ना कार्यकर्तालाई आ-आफ्नो गृह जिल्ला फर्काउने नीति लियो । उर्मिला पनि डोल्पा फर्किइन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पार्टीले उनलाई सामानुपातिकतर्फ राख्यो, तर दुर्गम क्षेत्र विकास समितिको सदस्यमा चित्त बुझाइन् ।
नेता खड्गबहादुर विश्वकर्मा पर्यटन मन्त्री हुँदा पनि उनलाई पर्यटन प्रवर्द्धन समितिको सदस्य बनाएको थियो । यहीबीचमा माओवादी पार्टी धमाधम फुट्न थाल्यो । २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनअघि पार्टी टुक्रिंदा उर्मिला मोहन वैद्य नेतृत्वको माओवादीतिर लागिन् र रामबहादुर थापा (बादल)सँगै पुनः माओवादी केन्द्रमा फर्किइन् ।
बादल नेकपा एमालेतिर लाग्दा उर्मिला माओवादी केन्द्रमै रहिन् । ‘टुक्रिएका नेताहरुको पछि लाग्दा धेरै राजनीतिक अवसर गुमाएँ’, उनी भन्छिन्, ‘व्यक्तिगत जीवनमा पनि धेरै क्षति व्यहोर्नु पर्यो ।’ माओवादी केन्द्रले उनलाई ०७४ को निर्वाचनमा पनि प्रदेशसभातर्फ सामानुपातिक उम्मेद्वार बनाएको थियो, तर सांसद बनाउन सकेन । यो पटक भने समानुपातिक बन्द सूचिको एक नम्बरमा रहेकी उनी सांसद बनिन् ।
उनका अनुसार त्यसबेला नै नेताहरुले पार्टीले सरकार बनाउन पाएको अवस्थामा सामाजिक विकासमन्त्री बनाउन आश्वासन दिएका थिए । तर बनायो भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री, त्यो पनि क्याबिनेट समावेशी बनाउनैपर्ने भएपछि । ‘जेसुकै भएपनि अब डोल्पाका प्रत्येक पालिकालाई सडक सञ्जालमा जोड्नु मेरो पहिलो प्राथमिकताा हुनेछ’, नवनियुक्त राज्यमन्त्री उर्मिला विक भन्छिन् ।