तर फिल्म कथा मात्र होइन । कथालाई कसरी दृश्य भाषामा प्रस्तुत गरिन्छ भन्ने कुराले अर्थ राख्छ । केन्द्रीय द्वन्द्व कमजोर हुँदा फिल्मले अपेक्षित द्वन्द्वात्मक उचाइ पाउन सकेको छैन । जसको कारण सेकेण्ड एक्ट र थर्ड एक्टको संरचनामा फिल्म कमजोर बन्न पुगेको छ । कतिपय सहायक चरित्र स्थापना नहुँदा यसले पात्र निर्माण र द्वन्द्वलाई प्रभावित तुल्याएको छ । स्वास्थ्य संकटजस्तो गम्भीर इस्युलाई उठान गरेपनि रिलेसनसिपको कथावस्तुले फिल्मको केन्द्रीय द्वन्द्वलाई छायामा पारेको देखिन्छ । समग्रमा ह्यारीकी प्यारी दृश्यभाषाभन्दा एउटा आइडिया हो ।
चरित्र चित्रण दर्शकलाई आकर्षक लाग्न सक्छ । मूलधारको नेपाली फिल्ममा जसरी हिरो–हिरोइनको जोडी बाँधिन्छ, यो फिल्ममा त्यस्तो छैन । अलग शारीरिक कद र बनोट भएका दुई कलाकारहरु साम्राज्ञी र जितुबीचको जोडीलाई कास्ट गर्नु नेपाली फिल्मको जुन परम्परागत सौन्दर्यशास्त्र छ, त्यो भिन्न पृथक अवश्य छ । यो कास्टिङ निर्देशकीय कोणबाट एउटा हिम्मत पनि हो । सुरुमा दुई कलाकारको कास्टिङ अस्वाभाविक लागेपनि कथावस्तुको सघनताअनुसार यो स्वभाविक लाग्न सक्छ । जितु र साम्राज्ञी आ–आफ्नो चरित्रमा स्वभाविक छन् । विजय बरालको अभिनयले हामीलाई कबड्डीको ह्याङओभरबाट मुक्त गर्छ । माया र बदमासी दुवै गर्ने साख्खै काकाको रोलमा उनी फिट छन् ।
दर्शकले अन्नपूर्ण संरक्षण क्षेत्रतर्फ पर्ने पर्वतको भुका देउरालीमा खिचिएको आकर्षक र ताजा लोेकेसन हेर्न पाउँछन् । फिल्ममा लोकेसन भूगोल मात्र होइन, लोकेसन आफैंमा एउटा पात्र हो । कथावस्तुअनुसार छायांकनका लागि जुन भूगोल रोजिएको छ त्यसले कथालाई न्याय गरेको छ । फिल्म पर्यटनको हिसाबबाट भूगोलको यो आइडिया आकर्षक छ । छायांकार सुदीप बरालको फ्रेमिङ आकर्षक छ । जम्प–कट् सम्पादनले फिल्मलाई लम्बेतान हुन दिएको छैन । भूगोल र त्यसको चरित्रअनुसार कस्ट्युम डिजाइन स्वभाविक हुनसक्छ या सक्दैन भन्ने कुरा बहसको विषय हुन सक्छ ।
तपाईंलाई ग्रामीण कथावस्तुमा भनिएका कमेडी र सामाजिक फिल्म हेर्न रुचि लाग्छ भने तपाईंका लागि ‘ह्यारीकी प्यारी’ योग्य हुन सक्छ ।