संसद बैठक बानेश्वरमा, रास्वपाका सबै सांसद बसुन्धारामा
संसद बैठक बानेश्वरमा, रास्वपाका सबै सांसद बसुन्धारामा
    • Bell Sanchar

    • २२ माघ २०७९, आईतवार

काठमाडौं।  आजको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका कुनै पनि सांसद उपस्थित भएका छैनन्।

अहिले संसदमा रास्वपा १९ सांसद छन्। तीमध्ये इन्दिरा राना मगर उपसभामुख हुन्।

पार्टी केन्द्रीय समिति र संसदीय दलको बैठक पार्टी कार्यालय बसुन्धरामा बसिरहेकाले रास्वपाका सांसद संसदमा अनुपस्थित भएका हुन्।

रास्वपाका एक सांसद आफ्नो दलका सबै सांसदहरू पार्टी कार्यालयको बैठकमा रहेको जानकारी दिए।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले रास्वपाका कुनै पनि सांसद अहिलेसम्म बैठकमा उपस्थित नभएको बताए।

यसअघि ठूला दलहरूका महत्वपूर्ण बैठक बस्दा सभामुखलाई आग्रह गरी संसद बैठकको समय हेरफेर गर्ने चलन थियो।

रास्वपाले आफ्नो बैठकबारे सभामुखलाई जानकारी नदिएकाले आजको बैठक निर्धारित समयमै बसेको छ।

रास्वपाको अहिले बसिरहेको संयुक्त बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा बसिरहने कि बाहिरिने भन्ने निर्णय गर्नेछ।

रास्वपाबाट प्रचण्ड सरकारमा अहिले दुई जना मन्त्री र एक जना राज्यमन्त्री छन्। सरकारमा बस्ने कि छोड्ने भन्नेबारे रास्वपामा दुई धार छन्।

यसअघि शनिबार राति बसेको रास्वपा बैठक निर्णय गर्न नसकेर सकिएको थियो।

आज बैठक बस्नुअघि रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा छलफल गरेका थिए।

लामिछानेले पार्टीको बैठकपछि आजै विशेष पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका छन्।

साताकाे चर्चित
सम्बन्धित