कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण
कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण
    • Bell Sanchar

    • २२ माघ २०७९, आईतवार

 सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ । काठमाडौं र सुर्खेतका चिकित्सकहरूको टोलीले २२ वर्षीय एक युवामा मिर्गौलाको प्रत्यारोपण गरेको हो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत प्रदेश अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको थियो । प्रत्यारोपण केन्द्रका डाक्टर पुकार चन्द्र श्रेष्ठ र प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोलीले बर्दघाट नगरपालिका–४, नवलपरासीका २२ वर्षीय युवाको मिर्गौला सफल प्रत्यारोपण गरेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।

पछिल्लो समय अस्पतालमा मिर्गौलाका बिरामी बढ्न थालेको भए पनि जटिल अवस्थाका बिरामी कम आउने गरेको निर्देशक खड्काले बताए ।

आइतबार सेवा विस्तारसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खड्काले भने, ‘विरामीको संख्या बढ्दो छ, तर आवश्यक जनशक्ति अभाव हुँदा एक महिनामा एक जना बिरामीको मात्रै मिर्गौला प्रत्यारोपण गरिनेछ ।’

अनुमति पाएको ३ महिनाभित्र मिर्गौला प्रत्यारोपण सुरु गरेको प्रदेश अस्पतालले सेवा नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ ।

मिर्गौला प्रत्यारोपण गर्नु परे काठमाडौं नै जानुपर्ने बाध्यताबाट अब कर्णालीका नागरिक मुक्त हुने निर्देशक खड्काको विश्वास छ ।

साताकाे चर्चित
सम्बन्धित