सांसद चौधरीलाई छाड्‍न उच्च अदालतले दिएन अन्तरिम आदेश
सांसद चौधरीलाई छाड्‍न उच्च अदालतले दिएन अन्तरिम आदेश
    • Bell Sanchar

    • २३ माघ २०७९, सोमबार

 धनगढी । उच्च अदालत दिपायलले नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

चौधरीले जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएका कारण आफ्नो मुद्दामा दिएको म्याद बदर गरी थुनामुक्त गर्न माग गर्दै दायर गरेको रिटमा आदेश दिन अस्वीकार गरिएको हो ।

उच्च अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीका नाममा कारण देखाउ आदेश जारी गरेको सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए ।

नेगीका अनुसार चौधरीको मुद्दामा अन्तरिम आदेश जारी गर्नुनपर्ने कारण वा प्रमाण भए १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरिएको छ ।

उक्त मुद्दाका वादी र प्रतिवादी दुवै पक्षसँगको छलफल पछि अन्तरिम आदेश सम्बन्धमा निर्णय गर्न सकिने ठहर गर्दै माघ २९ गते पेश तोकिएको छ ।

२९ गते छलफलका लागि दुवै पक्षलाई बोलाइएको सूचना अधिकारी नेगीले बताए ।

१३ वर्ष अघिको आगजनी मुद्दामा सांसद चौधरीसहितका तीन जनालाई जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख बढी रूपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएकाे थियाे ।

सोही मुद्दामा प्रहरीले चौधरीलाई केहि दिन अघि बाँकेबाट पक्राउ गरेको थियो । चौधरी हाल कैलाली कारागारमा थुनामा छन् ।

साताकाे चर्चित
सम्बन्धित