वार्षिक ६ लाख कमाउँछन् मोहनलाल तरकारी खेतीबाट
वार्षिक ६ लाख कमाउँछन् मोहनलाल तरकारी खेतीबाट
    • Bell Sanchar

    • २७ माघ २०७९, शुक्रबार

 सुन्दरहरैँचा । मोरङ सुन्दरहरैँचा नगरपालिका–११ स्थित शुक्रबारेका कृषक मोहनलाल श्रेष्ठले २५ वर्षदेखि निरन्तर रूपमा व्यावसायिक तरकारी खेतीमा सक्रिय रहेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

पाँच दशकअघि सामान्य किसान परिवारमा जन्मिएका मोहनलालले न्यू दीपा कृषि फार्म दर्ता गरेर व्यावसायिकरुपमा कृषि पेशा अपनाएका हुन् । उनले कृषि विकास बैंकबाट रु ६० हजार ऋण गरी तरकारी खेती सुरू गरेका थिए ।

एक बिघा जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आएका मोहनलालले अहिले यसै पेशाबाट सम्पूर्ण खर्च कटाएर वार्षिक रूपमा रू ६ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

‘वर्षभरिमा करिब एक हजार स्थानीय कामदारलाई तरकारी खेतीबाट रोजगारीसमेत दिँदै आएको छु’, मोहनलालले भने, ‘कृषि पेशाअन्तर्गत तरकारी खेती हाम्रो परिवारका लागि आम्दानीको राम्रो स्रोत भएको छ ।’

हिउँदे र बर्खे यामअनुसारको तरकारी खेती गर्दै आएका मोहनलालको बारीमा अहिले लटरम्म उन्नत जातको गोलभेँडा, काउली र बन्दागोभी देख्न सकिन्छ ।

‘केही आफ्नो र बाँकी भाडाको जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आएको छु’ मोहनलालले भने, ‘सिजन अनुकूल गोलभेँडा खेतीकाउली, बन्दा, काँक्रा, लौका, फर्सी, धनियाँलगायत रायोसागसमेत लगाएर राम्रै आम्दानी गरेको छु ।’ उनको देखासिकी गरी गाउँका अन्य व्यक्ति पनि तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

साताकाे चर्चित
सम्बन्धित