काठमाडौं । मौद्रिक नीति समीक्षापछिको दोस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको थियो ।
मौद्रिक नीति समीक्षापछि आइतबार करिब ६१ अंकको गिरावट भएको नेप्से मंगलबार लगातार दोस्रो कारोबार दिन पनि घटेको हो ।
मंगलबार बजार परिसूचक नेप्से १६.४० अंक (०.७७ प्रतिशत) ले गिरावट हुँदा २१०५.४६ अंकमा बन्द भएको छ । उत्पादनमूलक बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।
उत्पादनमूलक उपसूचक ०.३१ प्रतिशतले वृद्धि भएको छ । यता लगानी उपसूचक १.०२ प्रतिशतले गिरावट हुँदा अरु सबै उपसूचक १ प्रतिशत भन्दा कमको गिरावट भएको हो ।
मंगलबार नेप्सेमा २१५ कम्पनीको सेयर कारोबार हुँदा १६२ कमपनीको सेयरमूल्यमा गिरावट भएको छ ।
यस्तै ४५ कम्पनीको सेयरमूलय वृद्धि हुँदा ८ कम्पनीको स्थिर छ । युनिलिभर नेपालको सेयरमूल्य सर्वाधिक ६.१२ प्रतिशतले वृद्धि हुँदा राप्ती हाइड्रपावरको ५.२३ प्रतिशत र नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ४.५७ प्रतिशतले वृद्धि भएको छ ।