हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बागमती प्रदेश समिति सभापतिमा डा. अच्युतम लामिछाने निर्वाचित भएका छन् ।
आइतबार राति सम्पन्न निर्वाचनबाट उनी प्रतिस्पर्धी दिपक बिकले भन्दा ३१ मत बढी ल्याएर निर्वाचित भएका हुन् । कुल २७९ खसेको मत मध्ये लामिछानेले १५४ मत प्राप्त गरे भने बिकले १२३ मत प्राप्त गरेका थिए । २ मत बदर भएको थियो ।
सभापतिका प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो ।
दोस्रो चरणमा पहिलो र दोस्रो बढी मत ल्याउने उम्मेदवारहरु लामिछाने र बिकबीच प्रतिस्पर्धा भएको थियो ।
यसैगरि प्रदेश समितिले रास्वपा मकवानपुरको संयोजकमा भरत पराजुली र सहसंयोजकमा प्रकाश गौतमलाई जिम्मेवारी दिएको छ ।
यसअघि गएको पुस १७ गते रास्वपा केन्द्रीय समितिले मकवानपुर सभापति राजकुमार न्यौपानेलाई प्रतिनिधिसभा निर्वाचनको समयमा पार्टी हितविपरीत कार्य गरेको भन्दै कारबाही गरेको थियो ।