काठमाडाैं । पाकिस्तानको पहिलो ट्रान्सजेन्डर न्युज एन्कर मार्भिया मलिकलाई शुक्रबार उनको घरबाहिर अज्ञात हमलाकारीले गोली हानेको छ।
घटनामा उनको ज्यान भने जोगिएको छ। बन्दुकधारीले २६ वर्षीया मलिकमाथि पाकिस्तानको लाहोरस्थित फार्मेसीबाट घर फर्किंदै गर्दा गोली चलाएको थियो।
पाकिस्तानमा ट्रान्सजेन्डर समुदायका लागि आवाज उठाएको भन्दै केही समयदेखि धम्की आएको प्रहरीसमक्ष उनको निवेदन परेको थियो।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार मलिकले आफूमाथि भएको आक्रमणको कारण आफ्नो सक्रियता बताएकी छिन् ।
मलिकले आफ्नो ज्यानको डरले लाहोर छोडेर इस्लामाबाद र मुल्तान गएको बताइन् ।
पाकिस्तानी मिडियाका अनुसार उनी शल्यक्रियाका लागि केही दिनअघि लाहोर फर्किएकी थिइन् ।
मलिक सन् २०१८ मा परिवारबाट त्यागिएकी थिइन्। त्यसपछि उनी समाचार एंकर बन्ने पहिलो ट्रान्सजेन्डर बनेर इतिहास रचेकी थिइन्।