दक्षिण चीन सागरमा चीन र अमेरिकाका लडाकू विमान आमनेसामने (भिडियो)
दक्षिण चीन सागरमा चीन र अमेरिकाका लडाकू विमान आमनेसामने (भिडियो)
    • Bell Sanchar

    • १४ फाल्गुन २०७९, आईतवार

एजेन्सी

काठमाडाैं ।  चीनको जे–११ लडाकू विमानले अमेरिकी जलसेनाको विमानलाई दक्षिण चीन सागरको आकाशमा रोकेको छ । सीएनएनका अनुसार, अमेरिकी विमान प्यारासेल टापुसमूहबाट लगभग ३० माइल पर उडिरहेको थियो । पी–८ पोसाइडन गश्ती विमान उडिरहेको बेलामा चीनको लडाकू विमान आइपुगेको थियो ।

अमेरिकी विमानमा सीएनएनका एक संवाददाता पनि थिए । उनका अनुसार, विमानको रेडियोमा एउटा वार्निङ सिग्नल सुनिएको थियो ।

चिनियाँ वायुुसेनाले अमेरिकी विमानलाई चिनियाँ हवाईक्षेत्र त्यहाँबाट २२ किलोमिटर  मात्र टाढा भएको बतायो । त्यसभन्दा अघि बढेमा आउने परिणामको जिम्मेवार विमानमा रहेका व्यक्ति नै हुने चिनियाँहरूले चेतावनी दिए ।

त्यसको केही मिनेटपछि नै क्षेप्यास्त्रहरू सहितको चिनियाँ लडाकू विमान अमेरिकी विमानलाई रोक्नका लागि जम्मा ५०० फीटको दूरीमा आयो । अमेरिकी विमानमा रहेका सीएनएन पत्रकारले पनि चिनियाँ पाइलटलाई देखेका थिए ।

त्यसपछि अमेरिकी विमानका पाइलट लेफ्टिनेन्ट निक्की स्लटरले चिनियाँ पाइलटलाई जवाफ दिँदै भने, ‘हामी पश्चिमतर्फ फर्किँदैछौं । तपाईं पनि फर्किनुस् ।’

अमेरिकी पाइलटको यो सन्देशपछि रेडियोमा चीनको कुनै जवाफ आएन । चिनियाँ विमानले आगामी १५ मिनेटसम्म अमेरिकी विमानलाई पछ्यायो अनि त्यसपछि फर्कियो ।

दक्षिण चीन सागरको अधिकांश भागलाई चीनले आफ्नो सार्वभौम क्षेत्र मान्ने गरेको छ । अमेरिका चाहिँ त्यहाँ आवागमन स्वतन्त्रताको दाबी गर्दै पुग्ने गरेको छ ।

पहिला पनि त्यस ठाउँमा अमेरिकी र चिनियाँ जहाजहरू आमनेसामनेको स्थितिमा पुगेका घटना सार्वजनिक भएका थिए ।

साताकाे चर्चित
सम्बन्धित