हिमालय क्षेत्रमा रहेको बौद्ध धर्मावलम्बीहरूको पवित्र शहर हो तवाङ । शान्तिका प्रतीक गौतम बुद्धको मूर्तिसहितको यो गुम्बा सबैभन्दा ठूलो भारतीय गुम्बा हो ।
तवाङ गुम्बालाई लिएर भारत र चीनबीचको सीमा विवाद हुने गरेको छ । तवाङलाई भारत र चीनबीचको सीमा विवादको सबैभन्दा जटिल र भविष्यमा दुई मुलुकबीच द्वन्द्व निम्याउन सक्ने भूगोलका रूपमा लिइन्छ ।
हिउँले ढाक्ने यो भूगोलमा एशिया दुई ठूला सेनाहरू सय मिटरको दुरीमै आमने सामने भिडन्त गर्छन् । गत डिसेम्बर चीन र भारतीय सेनाबीच यहीँ भिडन्त भएको थियो ।
समुद्री सतहबाट ३ हजार मिटर उचाइमा रहेको तवाङ गुम्बा तिब्बती बौद्ध धर्मालम्बीहरूको प्रख्यात तीर्थस्थल हो ।
सामरिक भूमि भएका कारण परमाणु हतियारधारी दुई मुलुक भारत र चीनबीच बेलाबखत आपसी भिडन्त भइरहन्छ । यो भूमि चीनले आफ्नो रहेको दाबी गर्छ ।
सन् १९५० मै तिब्बतलाई चीनमा गाभिएकाले भारतको उत्तरी इलाकामा पर्ने त्यस भूमि आफ्नो रहेको चिनियाँ दाबी छ ।
तवाङ मात्रै होइन भारतले तिब्बतको दक्षिणी इलाका नै अवैध रूपमा कब्जामा लिएको चीनका पूर्व कर्णेल झोउ बुको दाबी छ ।
‘तवाङ मात्रै होइन तिब्बतको दक्षिणी इलाकामा पर्ने अरूणाचल प्रदेश नै भारतले अवैध रूपमा कब्जा गरेको छ यो हामीलाई स्वीकार्य छैन,’ बुको दाबी छ ।
गत डिसेम्बरमा त्यहाँ चीन र भारतीय सैनिकबीच भिडन्त भएको थियो । चीनले एकपक्षीय रुपमा आफ्नो भूमि अतिक्रमण गरिरहेको भारतीय जिकिर छ ।
विवादपछि चीनले, आफ्ना सेनाहरूले नियमित गस्तिमा जान खोज्दा भारतीय पक्षले अवरोध गरेपछि भिडन्त भएको प्रतिक्रिया दियो । त्यस भिडन्तमा दुवै पक्षका धेरै सेना घाइते भए । चीन र भारतबीचको यो भिडन्त सन् २०२० पछिकै ठूलो हो ।
सन् २०२० मा लद्दाखमा भीडन्त हुँदा २० जना भारतीय सेना र चार चिनियाँ सेनाको मृत्यु भएको थियो । चीन र भारतबीच ४ दशकदेखि सीमा विवाद छ । सन् २०२० को यो भिडन्तपछि दुवै पक्षले आफ्ना इलाकामा हजारौं सैनिक तैनाथ गरेका छन् ।
गत फेब्रुअरीको दोस्रो सातातिर भारतले सबल गाउँ परियोजना अन्तर्गत अरूणाञ्चल प्रदेशका ६ सय ६० गाउँमा लगानी गरेको छ । चीनतर्फ सीमा इलाका नजिक बस्ती बढाउन गरिएको पहललाई भारतीय पक्षले पनि पछ्याएको देखिन्छ । यस्तै, भारतले अरूणाचल प्रदेशमा होटल, रेस्टुरेन्टको संख्या बढाउँदै तवाङ क्षेत्रमा पर्यटन प्रवर्द्धन गरिरहेको छ ।
त्यस इलाकामा भारत र चीनबीचको सीमा पूर्णरूपमा सीमांकन गरिएको छैन । भारत र चीनबीच ३४ सय ८८ किलोमिटर भूगोलमा सीमा विवाद रहेको भारतीय दाबी छ भने चीनले २००० किलोमिटरमा विवाद रहेको बताउँदै आएको छ । तवाङ चीनले प्राथमिकतामा राखेको क्षेत्रमा पर्छ । यो इलाका भारतले सन् १९६२ को युद्धमा चीनसँग हारेको इलाका हो । त्यसबखत भारत चीनसँग नराम्रोसँग पराजित भएको थियो ।
दलाई लामाको छैटौं अवतारको जन्म तवाङमा भएकाले त्यस भूमि निर्विवाद रूपमा चीनको रहेको झोउ बुको भनाइ छ । ‘तवाङ निर्विवाद रूपमा चीनको हो । दलाई लामो छैटौं अवतारको जन्म भएको यस इलाकालाई चीनको होइन भनेर प्रमाणित गर्ने अन्य के आधार छ ?’ चीन र भारतबीचको सीमा विवाद सुल्झाउन सन् १९९० को मध्यमा गठित समितिमा रहेका झोउको प्रश्न छ ।
बेलायतको उपनिवेश रहँदाको अवस्थामा तत्कालीन बेलायती सचिव म्याकमहनको नाममा सन् १९१४ मा गरिएको रेखांकन अनुसार त्यस इलाका आफ्नो रहेको भारतीय जिकिर छ । यो रेखांकनका आधारमा भुटानका पूर्वी इलाकाको सीमा क्षेत्रदेखि अरूणाचल प्रदेशका इलाका भारतमा पर्ने भएकाले चीनले यसलाई अस्वीकार गर्दै आएको छ ।
विज्ञहरूका अनुसार तिब्बतलाई आफ्नो अधिनमा राखेको चीनले बौद्ध धर्मावलम्बीहरूको तीर्थस्थललाई आफ्नो अधिनमा ल्याउन खोजेको छ । सन् १९५९ मा दलाई लामा भारततर्फ भाग्दा उनी तवाङ हुँदै भारत पुगेका थिए । त्यसैले भविष्यमा त्यहाँबाट चीन विरोधी गतिविधि हुनसक्ने भन्दै चीनले त्यस क्षेत्रमा विशेष सतर्कता मात्रै अपनाएको छैन त्यस इलाकालाई नै आफ्नो अधिनमा ल्याउन उद्दत छ ।
अरूणाचल इलाकाका क्षेत्रमा चीनले विगत २० वर्षदेखिको दाबीलाई सुदृढ बनाउँदै लगेको छ भने अर्कातिर त्यस भूगोलमा चीनले व्यापार गर्न चाहेको छ । अन्तर्राष्ट्रिय मामिला अध्ययन संस्था सांघाइमा कार्यरत लिउ जोङीका अनुसार सन् २००६ मा चीन र भारतबीच वार्ता हुँदा तवाङलाई केन्द्रमा राखेर चिनियाँ पक्षले वार्ता गरेको थियो । ‘तवाङको बदलामा अरूणाञ्चल क्षेत्रका अन्य भूभाग दिन चीन सहमत भएको थियो । त्यस बखत भारतले असहमति जनायो ।’
यता भारतका तत्कालीन विदेश सचिव श्याम शरणले भने चीनबाट त्यस्तो कुनै प्रस्ताव आएको स्मरण नरहेको बताए । ‘कुन–कुन क्षेत्र छोड्ने वा कुन क्षेत्रमा दुईपक्षीय व्यापार गर्ने भन्ने एजेण्डा कहिल्यै पनि आएको छैन,’ उनले भने ।
दुई मुलुकका सीमा विवाद सुल्झाउन धेरै प्रयत्न भए पनि कुनै प्रगति भने हुनसकेको छैन । गत फेब्रुअरीमा दुवै पक्षमा बेइजिङमा भेला भएका थिए । सीमा विवाद अन्त्य नहुँदासम्म यथास्थितिकै सीमा कायम राख्ने अडान भारतीय पक्षले लिएको थियो भने चीनले त्यसमा असहमति जनाएको थियो ।
भारतीय अतिक्रमणले आफूहरू सशंकित रहेको चीनका पूर्वसैनिक झोउको भनाइ छ । ‘भारतीय आचरण बढो आश्चर्यजनक छ । मेरो मेरै भयो, तिम्रो पनि मेरै हो भन्ने भारतीय आचरण छ । पूर्वी क्षेत्रको सीमामा पकड भएकाले पश्चिमको क्षेत्रमा पनि पकड बनाउने उनीहरूको चाल छ,’ उनले भने ।
सीमा क्षेत्रमा भारतीय पक्षले आक्रामक प्रतिरक्षा नीति अपनाउँदै तनाव बढाउन काम गरिरहेको झोउको बुझाइ छ ।
यता भारतीय पक्ष भने चीनले आफ्नो नीतिलाई भारतसँग जोडेर बोलेको बताउँछ । ‘चिनियाँ पक्षले निरन्तर सीमांकन मिच्दा यस्ता समस्या दोहोरिएका हुन्,’ श्याम शरण भन्छन् ।
सीमा विवाद समाधानका लागि हाल दुवै पक्ष केही लचिलो भएकाले यस्ता प्रयत्नलाई भविष्यमा पनि निरन्तरता दिनुपर्ने झोउको बुझाइ छ । तर अधिकांश भारतीयहरू भने सीमा विवाद समाधानमा ढिलाइ गर्दा चीन नै लाभान्वित हुने बताइरहेका छन् । ‘दुवै पक्षको शक्ति बढिरहेको र दुवै प्रतिस्पर्धी रहेकाले चीनसँग सतर्कता अपनाउनैपर्छ,’ श्याम शरणले भनेका छन् ।
भारत र चीन दुवैले व्यापारिक पक्षलाई महत्व दिएकाले तत्कालै युद्ध हुनेमा कोही पनि विश्वास गर्दैनन् । तर दुवै पक्ष कुनै पनि सहमतिमा आएका छैनन् । तवाङलाई नियन्त्रणमा लिनका लागि दुवै पक्ष भिडिरहेकाले भविष्यमा तवाङमा विवाद र भिडन्त झन् बढ्ने सम्भावना उत्तिकै छ ।