काठमाडौं । अरुणाचल प्रदेशलाई भारतको अभिन्न अंग भएको बताउँदै अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा एउटा प्रस्ताव ल्याइएको छ ।
त्यसमा अरुणाचल प्रदेशमा रहेको मकमाहोन लाइनलाई भारत र चीनबीचको अन्तर्राष्ट्रिय सीमा मानिएको छ ।
सिनेटर जेफ मर्कले र बिल ह्यागर्टीले यो प्रस्ताव पेश गरेका हुन् । त्यसमा सीमाको यथास्थिति बदल्ने चीनको प्रयासको निन्दा गरिएको छ ।
मंगलवार ह्यागर्टीले चीन स्वतन्त्र तथा खुला हिन्द प्रशान्त क्षेत्रका लागि गम्भीर खतराका रूपमा रहेको बताए । यस्तो अवस्थामा अमेरिकाले भारत लगायत क्षेत्रका रणनीतिक साझेदारसँग मिलेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
अरुणाचल प्रदेश राज्यलाई भारतको अभिन्न अंगका रूपमा मान्यता दिनका लागि सिनेटको समर्थन आफ्नो प्रस्तावले खोजेको ह्यागर्टीको भनाइ छ ।
उनले अमेरिका–भारत रणनीतिक साझेदारीको पनि समर्थन गरेका छन् ।
चीनले अरुणाचल प्रदेशलाई दक्षिण तिब्बत मान्ने गरेको छ । मर्कले र ह्यागर्टीको प्रस्तावले चीनको उक्त दाबीलाई खारेज गरेको छ ।
प्रस्ताव पेश गर्ने सिनेटर मर्कलेले भने, ‘अरुणाचल प्रदेशलाई अमेरिकाले भारत गणराज्यको एक अंगका रूपमा लिएको छ भन्ने कुरा यस प्रस्तावले स्पष्ट पार्छ ।
अनि अमेरिका समान विचारधारा भएका अन्तर्राष्ट्रिय साझेदारहरूसँग क्षेत्रमा समर्थन तथा सहायता गहिरो बनाउने प्रतिबद्धता पनि व्यक्त गर्छ ।’एजेन्सी