खेलाडीलाई हौसला प्रदान गर्न कीर्तिपुर मैदानमा प्रधानमन्त्री दाहाल
खेलाडीलाई हौसला प्रदान गर्न कीर्तिपुर मैदानमा प्रधानमन्त्री दाहाल
    • बेल संचार

    • २ चैत्र २०७९, बिहीबार

 काठमाडौं । नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुगेका छन् ।

आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा खेलाडीहरूलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर पुगेका हुन् ।

लिगको अन्तिम खेल बिहीवार नेपाल र युनाइटेड अरब इमिरेट्सबीच भइरहेको छ । उनले नेपाली खेलाडीलाई विजयको शुभकामना समेत दिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कीर्तिपुर मैदानमा बिहीवारको खेल हेर्न ठूलो संख्यामा नेपाली दर्शक पुगेका छन् । अनुहारमा नेपाली झण्डाको रंग पोतेका र नेपाली झण्डा बोकेका दर्शकले नेपाली खेलाडीलाई हौसला प्रदान गरिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ लगायतको उपस्थिति कीर्तिपुर मैदानमा रहेको छ ।

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि नेपाली खेलाडीलाई जितको शुभकामना दिएका छन् ।

‘हामी आशावादी छौं, हाम्रो टीम उच्च मनोबलका साथ खेल्नेछ र नेपालको क्रिकेट इतिहासमा सफलताको नयाँ इतिहास रच्नेछ ।

विजयीको शुभकामना टीम नेपाल,’ उनले भनेका छन् ।पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि शुभकामना दिए ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन्, ‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो ।

उच्च आत्मबबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टीमलाई शुभकामना । राष्ट्र तपाईंहरूको साथमा छ । म तपाईंहरुको साथमा छु ।’

साताकाे चर्चित
सम्बन्धित