काठमाडौं । चलचित्र कलाकार संघको शनिबार सम्पन्न महाधिवेशनबाट पाका अभिनेता मोहन निरौला अध्यक्षमा निर्वाचित भए ।
महासचिवमा सविन श्रेष्ठसहित नयाँपुस्ताका अनुहार कार्यसमितिमा चुनिए । तर पछिल्लो समय चलचित्र उद्योगलाई व्यावसायिक रुपमा अग्रता र सक्रियता दर्शाइरहेका कलाकारको पछिल्लो पुस्ताको उपस्थिति भने चुनावमा देखिएन ।
राजेश हमाल मिटिङको कारण देखाउँदै चुनावमा उपस्थित भएनन् । अनमोल केसी उपत्यकाबाहिर भएको, प्रदीप खड्का फिल्मकै काममा व्यस्त भएको, पल शाह घरमै आराम गरिरहेको, साम्राज्ञी शाह थाइल्याण्डमा भएको जस्ता कारण देखाएर चुनावमा गएनन् । यति मात्र होइन, नयाँपुस्ताका अधिकांश कलाकार त्यहाँ उपस्थित भएनन् ।
अध्यक्ष निरौलाले नयाँ पुस्तालाई समेट्न समावेशी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने बताए । ‘कलाकार वर्गकै उत्थानका लागि यो संस्था गठन भएको हो । उहाँहरु आउनुहुन्छ भन्ने हामीलाई लाग्छ ।
समावेशीमूलक कार्यक्रम गरेर उहाँहरुलाई समेट्छौं,’ निरौलाले भने, ‘कलाकारको विकास र विस्तारमा हामी दत्तचित्त भएर अघि बढ्छौं ।’
अध्यक्ष निरौलाले कलाकारको वर्गीय हितका कामलाई प्राथमिकतामा राखेर काम हुने बताए ।
राष्ट्रिय र जातीय भाषाका फिल्मका कलाकारलाई पनि समेटेर अघि बढ्ने योजना रहेको भन्दै निरौलाले सामाजिक सुरक्षा, पारिश्रमिक र बीमाजस्ता काम पनि प्राथमिकतामा रहेको बताए । महासचिव श्रेष्ठले नयाँ–पुराना कलाकारलाई पनि समेट्ने, विशुद्ध सदस्यता दिलाउने र आचारसंहिता लागू गर्ने योजना रहेको बताए ।
सोमबार बस्ने नयाँ कार्यसमितिको पहिलो बैठकबाट केही महत्वपूर्ण एजेण्डा पास गरेर अघि बढ्ने तयारीमा आफू रहेको अध्यक्ष निरौलाको भनाइ छ ।
यसका लागि उनले पूर्व अध्यक्षहरु नवल खड्का, रविन्द्र खड्का लगायतसँग परामर्श गर्ने तयारीमा उनी छन् ।