रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल विजयी
रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल विजयी
    • Bell Sanchar

    • १० चैत्र २०७९, शुक्रबार

काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमानी बनाएका छन् ।

राष्ट्रिय टिमका लागि १९७औं खेल खेल्दै कीर्तिमान बनाएका रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले युरो २०२४ को छनोटको पहिलो खेलमा लिचेस्टाइनलाई ४–० ले पराजित गरेको छ ।

३८ वर्षीय फरवार्ड रोनाल्डोले पोर्चुगलका लागि १२० गोल गरेका छन् ।

सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टिममा डेब्यु गरेका रोनाल्डोले गत डिसेम्बरमा कतार विश्वकपमा गोल गर्दै लगातार पाँच विश्वकपमा गोल गर्ने कीर्तिमान बनाएका थिए ।

युरो छनोट अन्तर्गत समूह ‘जे’ को खेलमा रोनाल्डोले पहिलो गोल ५१औं मिनेटमा पेनाल्टीमार्फत गरेका थिए ।

यस्तै ६३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई फराकिलो जित दिलाए । त्यसअघि जाओ कान्सेलोले आठौं र बर्नार्डो शिल्भाले ४७ औं मिनेटमा गोल गरेका थिए । जितपछि पोर्चुगलले ३ अंक जोडेको छ ।

साताकाे चर्चित
सम्बन्धित