काठमाडौं ।
मध्य अमेरिकी देश होन्डुरसले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको छ ।
होन्डुरसको विदेश मन्त्रालयले ट्वीट गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको जानकारी दिएको हो ।
होन्डुरस र ताइवान सन् १९८५ देखि कूटनीतिक सम्बन्धमा थिए ।
होन्डुरसले एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै ताइवान चीनको अभिन्न हिस्सा भएको बताएको छ ।
होन्डुरसको यो निर्णयपछि ताइवानसँग कूटनीतिक सम्बन्ध कायम रहेका देशहरुको संख्या अब १३ वटा मात्र रहेको बीबीसीले जनाएको छ ।
ती देशहरुले ताइवानलाई अलग देशको रुपमा मान्यता दिँदै आएका छन् ।
चीनले भने ताइवानलाई आफूसँग अलग भएको एक प्रान्त मान्दछ र ढिलो चाँडो चीनको नियन्त्रणमा आउने बताउँदै आएको छ ।
तर ताइवानले भने आफूलाई एक स्वतन्त्र देश ठान्दछ ।
ताइवानमा आफ्नै संविधान र अलग सरकार छ ।
होन्डुरसले कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेपछि ताइवानले खेद व्यक्त गरेको छ ।