जनकपुरधाम ।
जनकपुरधामसहित मधेशमा आज चैती छठ पर्व मनाइँदै छ ।
चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिन्छ । भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत समापन हुने छ ।
जनकपुरधामको गंगासागर, अर्गजासरमा यो पर्व धुमधामको साथ मनाउने गरिन्छ । जुन अब्लोकनको लागि श्रद्धालु भक्तजनको खचाखच भीड लाग्ने गर्दछ ।
आज सूर्य अस्ताउनु एक घण्टा पहिलेदेखि नै व्रतालुहरु जलाशयमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै दिनानाथलाई अर्घ्य दिने गर्दछन् ।
अर्घ्यमा ठकुवा, भुसुवा, मुला, उँखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवललगायतका सामग्री प्रसादको रुपमा चढाइन्छ ।
व्रतालुहरू जागरण बसी भोलिपल्ट चैत्र सुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको समापन हुने चलन छ । चैती छठ गर्दा हरेक मनोकाङ्क्षा पूरा तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।
केही वर्ष पूर्वसम्म मारबाडी समुदायका केही व्यक्तिहरुले मात्र मनाउने गर्दथे । तर बर्सेनि यो पर्व मनाउनेहरुको संख्यामा वृद्धि भइरहेको छ ।