काठमाडौं ।
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा २२ चैत र उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा ३ वैशाख २०८० सम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले दोलाखमा ६.४ मेगावाटको सुरी खोला जलविद्युत आयोजनाको निमार्ण गरी १८ वैशाख २०७९ बाट व्यवसायिक उत्पादन सुरु गरेको छ ।
आयोजनाको कुल अनुमानित लागत एक अर्ब ३४ करोड ६४ लाख १९ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १९ करोड २३ लाख ४५ हजार ५७१ रुपैयाँ रहेको छ।
त्यस्तै कम्पनी ७ मेगावाटको माथिल्लो सुरी खोला जलविद्युत आयोजना निमार्ण अन्तिम चरणमा पुर्याएको छ। आयोजनाको कुल अनुमानित लागत १ अर्ब २९ करोड ५० लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट अनुमानित लागत १८ करोड ५० लाख रुपैयाँ रहेका छ ।