काठमाडौं ।
जिम्बावेमा आगामी जुन-जुलाईमा हुने विश्वकप क्रिकेट छनोट खेल्ने ९ टोलीको टुङ्गो लागेको छ ।
नामिबियामा भइरहेको क्वालिफायर प्लेअफबाट अमेरिकासँगै यूएईले पनि विश्वकप छनोटमा स्थान पक्का गरेको हो ।
क्वालिफायर प्लेअफमा मंगलबारको दुई खेलको नतिजापछि यूएईले ओडीआई मान्यता बचाउनुका साथै विश्वकप छनोटमा पनि स्थान पक्का गरेको हो ।
अमेरिकाले ५ मध्ये ४ खेल जितेर ८ अंक जोड्दै शीर्ष स्थान रहेर विश्वकप छनोटमा स्थान बनायो । यस्तै नामिबियाले अन्तिम खेल जित्दै ५ खेलबाट ६ अंक जोडेको छ ।
एक खेल खेल्न बाँकी हुँदा यूएईको पनि ६ अंक नै छ । हाल यूएई तेस्रोमा छ बुधबार जर्सीसँग अन्तिम खेल खेल्दैछ । उक्त खेलमा हारेपनि यूएईलाई असर गर्ने छैन ।
तर प्रतियोगिताको नियमअनुसार दुई टिमको अंक बराबर भएमा हेड टु हेड हेरिनेछ । यस्तोमा यूएईले यसअघि नै नामिबयालाई पराजित गरिसकेको छ ।
त्यसैले अमेरिका र यूएई क्वालिफायर प्लेअफबाट शीर्ष दुईमा रहेर विश्वकप छनोटमा पुगेको हो ।
लिग टु बाटै ओडीआई मान्यता जोगाएको नामिबिया भने अभागी बन्दै विश्वकप छनोटमा पुग्न सकेन । नामिबियाले अब अर्को लिग टु खेल्नेछ ।
लिग टु मा अन्तिम दुईमा रहेपनि यूएईको ओडीआई धरापमा परेको थियो तर प्लेअफबाट यूएईले ओडीआई मान्यता जोगउँदा पपुवा न्यु गिनीले भने ओडीआई मान्यता गुमायो ।
क्वालिफायर प्लेअफमा पपुवा न्युगिनीले चारवटै खेलमा पराजित भइसकेको छ । अब क्यानडासँग बुधबार हुने खेल पपुवा न्यु गिनीका लागि ओडीआई मान्यता गुमाउनुअघि अन्तिम ओडीआई खेल हुनेछ ।
यी हुन् विश्वकप छनोट खेल्ने निश्चित भएका ९ टोली
आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने वान डे विश्वकपमा लागि जिम्बावेमा जुन-जुलाईमा विश्वकप छनोट हुँदैछ ।
जसमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष २ टोलीले मात्र विश्वकपमा स्थान बनाउनेछन् ।
जिम्बावेमा विश्वकप छनोट खेल्ने १० मध्ये ९ टोलीको टुङ्गो लागिसकेको छ ।
सुपर लिगको पुछारका पाँच टिम श्रीलंका, वेष्ट इन्डिज, जिम्बावे र नेदरल्याण्ड्स (एक टिम टुङ्गो लाग्न बाँकी), लिग टु को शीर्ष तीन टिम स्कटल्याण्ड, ओमान र नेपाल तथा क्वालिफायर प्लेअफबाट अमेरिका र यूएईले विश्वकप छनोट खेल्नेछन् ।
अब एक टिमको टुङ्गो लाग्न बाँकी छ ।
सुपर लिग खेलिरहेका दक्षिण अफ्रिका र आयरल्याण्डमध्ये एक टिमले सिधै विश्वकपमा स्थान बनाउनेछ भने एक टिमले विश्वकप छनोट खेल्नुपर्नेछ ।
दक्षिण अफ्रिका विश्वकप सिधै खेल्ने होडमा अघि छ । सुपर लिगमा सबै खेल खेलिसकेको दक्षिण अफ्रिका ९८ अंकसहित आठौं स्थानमा छ ।
आयरल्याण्डले बंगलादेशसँग तीन खेल खेल्न बाँकी छ र हाल ६८ अंक छ । आयरल्याण्डले सबै खेल जितेमा दक्षिण अफ्रिका समान अंक बराबरी हुनेछ र यस्तो हेड टु हेड र रनरेट निर्णायक हुनेछ ।
यदि आयरल्याण्डले बंगलादेशसँग एक मात्र खेल हारेमा पनि दक्षिण अफ्रिका सिधै विश्वकपमा पुग्नेछ ।
यसपटक चार टेष्ट राष्ट्रले पनि विश्वकप छनोट खेल्नुपर्ने भएको छ । जसमा दुई पूर्वच्याम्पियन वेष्ट इन्डिज र श्रीलंकासमेत छन् ।
यस्तै आयोजक जिम्बावे लगातार दोस्रो पटक विश्वकप छनोट खेल्दैछ । अब यसमा एक टेष्ट टिम थपिनेछ ।
यसपटक नेपालले पूर्व विश्वविजेतामध्ये एक टिमसँग खेल्ने लगभग पक्का छ ।