बुटवल ।
शान्ति र समृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा लुम्बिनी पीस हाफ म्याराथन प्रतियोगिता शुरू भएको छ ।
अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा देशभरका २ हजार ५५० महिला पुरुष खेलाडी मैदानमा उत्रिएका छन् ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा शान्ति द्वीप बालेर ओलम्पिक कोच चन्द्रबहादुर घले, विमला राना र मोहन घलेलाई दिई प्रतियोगिता शुरू गरेका हुन् ।
ओली एकेडेमीका संरक्षक पनि हुन् । मायादेवी मन्दिर अगाडिबाट शुरू भएको म्याराथनमा खेलाडीले लुम्बिनी वरपर २ फन्को मारेर २१ किलोमिटरको दूरी पूरा गर्नेछन् ।
प्रतियोगितामा महिला पुरुष दुवैलाई छुट्टाछुट्टै पुरस्कृत गरिने छ । प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र तेस्रोलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइने छ । महिला प्रथम हुनेले १ लाख ५१ हजार नगद पाउनेछन् ।
दुवै विधामा नगद पुरस्कार राशीसँगै प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।