काठमाडौं ।
रुसी सैनिकहरूले भुइँमा पल्टिएका एक युक्रेनी युद्धबन्दीको टाउको काटेको वीभत्स भिडियो सार्वजनिक भएपछि युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले अन्तर्राष्ट्रिय नेताहरूलाई यसमाथि कारवाही गर्न आग्रह गरेका छन् ।
संसारले यस आततायी भिडियोलाई बेवास्ता गर्न नहुने उनको भनाइ छ । यो भिडियो सही हो कि हैन भनी पुष्टि भएको छैन ।
‘यी पशुहरूले कति सजिलै मार्छन् ? हामी केही कुरा पनि बिर्सने छैनौं । अनि हामी हत्याराहरूलाई माफ पनि गर्ने छैनौं,’ जेलेन्स्कीले बताए ।
भिडियो क्लिपमा एक रुसी सैनिकले चक्कु लिएर युक्रेनी सैनिकको टाउको काटेको देखिन्छ ।
भिडियो कहिले खिचिएको थियो भनी थाहा हुन सकेको छैन । भिडियोमा देखियो हरियोपरियो हेर्दा यो पोहोर सालको गर्मी महिनामा खिचिएको हुन सक्ने सम्भावना छ ।
यसअघि युक्रेनको बुचा शहरमा पनि रुसी सैनिकहरूले युक्रेनी नागरिकलाई समातेर यातना दिँदै मारेको आरोप लागेको थियो ।
त्यसैलाई आधार बनाई जेलेन्स्कीले यो जानीबुझी गरिएको घटना भएको बताएका छन् ।