एजेन्सी
आयरल्यान्ड भ्रमणमा रहेका अमेरिकाका राष्ट्रपति जो बाइडनले बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई असम्मान गरेका छन् ।
बेल्फास्टमा बुधवार राति एयरफोर्स वान विमानबाट ओर्लेपछि बाइडनले सुनकसँग हात मिलाएर अनि हलुका धक्का दिएर अघि बढे ।
उनले बेलायतका लागि अमेरिकी राजदूत जेन हार्टलीलाई लामो समयसम्म अँगालो मारेर आत्मीयता देखाए ।
त्यसपछि स्वागत समारोहमा बाइडनले सुनकलाई खासै वास्ता गरेनन् । सुनक चाहिँ केही नभए जस्तो गरी दाँत देखाउँदै हाँसिरहे ।
यसअघि बाइडनले आफ्ना पुर्खाहरू आइरिश भएको भन्दै व्यापक चर्चा गरेपछि उनलाई बेलायतविरोधी भनी आलोचना गरिएको थियो ।
त्यसपछि बाइडनको टोलीले उनी बेलायतविरोधी नभएको भनी प्रतिरक्षा गरेको थियो ।