लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ११ वैशाखमा दोस्रोपटक विश्वासको मत लिने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ११ वैशाखमा दोस्रोपटक विश्वासको मत लिने
    • Bell Sanchar

    • ४ बैशाख २०८०, सोमबार

बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ११ वैशाखमा दोस्रोपटक विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताए ।

गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते पहिलोपटक विश्वासको मत लिएका थिए ।

राष्ट्रपतिको चुनावसंगै केन्द्रमा बदलिएको सत्ता समीकरण अनुसार माओवादी केन्द्रलगायतका दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत लिन लागेका हुन् ।

लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेश सभाका १० दलमध्ये ८ दल र एक जना स्वतन्त्र समेत ५३ सांसदले कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।

८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ । अहिले एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् ।

एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले संविधानको धारा १६८(३) अनुसार सरकारको नेतृत्व दाबी गर्ने तयारी गरेको एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले बताए ।

विपक्षी गठबन्धनले मुख्यमन्त्री गिरीले बहुमत गुमाइसकेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने र १६८ (२) अनुसार बहुमत सांसदको समर्थन प्राप्त कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित