एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।कप्तान रोहित पौडेल २३ रन बनाएर आउट भएका छन् ।
यसक्रममा ३४ बल खेलेका रोहितले २ चौका प्रहार गरे ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले रनको खाता नखोल्दै दुवै ओपनरलाई गुमाएको थियो ।
कुशल भुर्तेल ८ बल खेलेर खाता नखोली आउट हुँदा १० बल खेलेका आसिफ शेखले पनि रन जोड्न सकेनन् ।
यो समाचार तयार पार्दा १८ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५९ रन जोडेको छ ।
भीम सार्की ३१ र आरिफ शेख ५ रन बनाएर खेलिरहेका छन् ।
खेललाई आईसीसीले एक दिवसीय मान्यता समेत दिएको छ ।
यसअघि भएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो । ओमान पनि आफ्नो पहिलो खेलमा विजयी भएको थियो ।
प्रतियोगितामा सहभागी १० टीमलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेताले भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्नेछ ।