मेयर कप खुला महिला तथा पुरुष भलिबल प्रतियोगितामा आर्मी र न्युडायमण्डले विजयी सुरुआत गरेका छन् ।
ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा शनिबार सुरु प्रतियोगितामा आर्मीेले सुर्यबिनायक युथ क्लब र न्युडायमण्डले परोपकार गल्स होस्टेललाई पराजित गरेको हो ।
आर्मीले सुर्यबिनायकमाथि २५–११, २५–७ र २५–१५ को सेटमा जित निकाल्यो । न्युडायमण्डले समेत परोपकारलाई २५–८, २५–१२ र २५–८ को सोझो सेटमा हरायो ।
महिलातर्फ दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले कोटेश्वर बहुमुखी क्याम्पसलाई २५–१, २५–५ र २५–४ को सोझो सेटमा हरायो भने पुरुषतर्फको दोस्रो खेलमा एपीएफले नेपाल गणतान्त्रिक खेलकुदलाई २५–१, २५–१३ र २५–१८ को सेटमा पाखा लगायो ।
ललितपुर महानगरको आयोजना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको व्यवस्थापन रहेको प्रतियोगितामा ८ पुरुष र ७ महिला गरि १५ टिम सहभागी छन् ।
प्रतियोगिताको विजेता टिमले समान दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुने टिमले ५० हजार रूपैयाँ प्राप्त गर्नेछ ।
शनिबार सुरु भएको प्रतियोगिताको उद्घाटन ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले गरेका थिए । प्रतियोगिता वैशाख १६ गतेसम्म चल्नेछ ।