हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्कियो
हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्कियो
    • Bell Sanchar

    • १३ बैशाख २०८०, बुधबार

सिन्धुपाल्चोक

२०७२ सालको भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्किएको छ ।

भूकम्पले क्षति पुर्‍याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्टे (घरबास) को पुनःनिर्माणपछि हेलम्बु आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो । बाटैभरि बौद्ध धर्मावलम्बीको सेता आकर्षक माने, रङ्गीन ध्वजापताकाले सिङ्गारिएको सिङ्गो गाउँ, आँखै अगाडि मनै लोभ्याउने सेता हिमाल ।

गर्मी महिनामा सिरसिर हावा चल्ने मनमोहक डाँडाकाँडा र हिमाली वनस्पति तथा वन्यजन्तु हेलम्बुका आकर्षण हुन् ।

हेलम्बु आएका ललितपुरको जाउलाखेलका विपुल शाक्य यहाँको मनमोहक दृश्य देखेर मोहित भएका छन् । काठमाडौँ उपत्यकाको प्यास मेटाउने मेलम्ची खानेपानीको सुरुङ हेर्ने क्रममा हेलम्बु आइपुगेका उनी आँखै अगाडि पहिलोचोटी हिमाल देखेर दङ्ग परे ।

भूकम्पले गुम्बाको सहर भनेर चिनिने हेलम्बुको चहलपहल ह्वात्तै घटेको थियो ।  पुनःनिर्माणका क्रमाम आएका विविध समस्या यहाँका स्थानीयले समाधान गरेपछि अहिले माने र गुम्बा ठडिएका छन् । पदयात्राका क्रममा बाटैभरि ध्वजापताका, गुम्बा, मानेले मनै लोभ्याएको शाक्यले बताए । हेलम्बुभित्रको पर्यटकीय गाउँ शेर्माथाङमा रहेको होमस्टे अनि पाहुनालाई सत्कार गर्ने स्थानीयको शैलीले आफू प्रभावित भएको उनले सुनाए ।

‘गाउँका मान्छेमा पाप हुँदैन भन्थे, यहाँ आएर थाहा भयो’, शाक्यले भने, ‘यहाँको सुन्दरताको वर्णन गरी साध्य छैन।’ यहाँको परिवेश, संस्कृति नेपालकै नमूना भएको उनको ठम्याइ छ । भूकम्प र कोरोनाले थलिएका पूर्वाधार, धार्मिकस्थलको पुनःनिर्माणसँगै हेलम्बु गाउँपालिकाको पर्यटन तङ्ग्रिन थालेको छ ।

क्षतिग्रस्त बस्ती र धार्मिकस्थल विस्तारै उठ्न थालेपछि हेलम्बु गाउँपालिकाअन्तर्गतको प्रसिद्धस्थलमा दैनिक आउने पर्यटकको सङ्ख्या बढेको हो ।

हेलम्बु आइपुगेका रविन महर्जनलाई पनि एकैनासका ह्योल्मो संस्कृति झल्काउने लहरै उभिएका हरिया घर देख्दा लोभिए । ‘यहाँको कृषि क्षेत्र पनि उदाहरणीय लाग्यो’, उनी भन्छन्, ‘स्याउ फल्छ भन्ने सुनेको मात्रै थिएँ, यहाँ प्रत्यक्षरुपमा देख्न पाइयो।’ उनले यहाँ गरिएको किवीखेती लोभलाग्दो रहेको बताए ।

अझै समथर भू-भागमा मिलेर बसेको तार्केघ्याङ र मेलम्चीघ्याङ बस्ती निकै सुन्दर रहेको महर्जनले बताए । ‘हामीलाई एउटै बस्तीमा रङ्गीन ध्वजापताका र गुम्बाले निकै आकर्षित गरेको छ’, उनले भने ।

शाक्य र महर्जनमात्रै होइन, भूकम्पपछिको पुनःनिर्माणले देखिएको सुन्दरता देखेर यहाँ आइपुग्ने पर्यटक मोहित हुने गरेका छन् । गुम्बाको पुनःनिर्माणले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । वार्षिक ३६ हजार पर्यटक हेलम्बु पदमार्ग हुँदै आमायाङ्ग्री, मेलम्ची घ्याङलगायत स्थलमा पुग्ने गरेको तथ्याङुक छ । अहिले पूर्वाधार र धार्मिक संरचना निर्माण भएकै कारण दैनिक ४० देखि ५० आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

‘पर्यटकीय पदमार्गमा चहलपहल बढेको छ । आन्तरिक मात्र होइन यहाँ बाह्य पर्यटक पनि दिनहुँ आउन थालेका छन् । उनीहरूले अधिकांश माथिल्लो क्षेत्र घुम्न जाने गरेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

उनले भने, ‘पर्यटकीय गाउँ हेलम्बुमा गुम्बालगायत अन्य भौतिक पूर्वाधार र आरामदायी बास बस्ने रिसोर्टको सुविधा सहज बनेपछि पर्यटक आउन थालेका छन्।’

ह्योल्मो जातिको उद्गमस्थल मानिने तार्केघ्याङ, गुरु रिन्पोछेको गुफा, चिरी गुम्बा, मेलम्चीघ्याङ, महादेव पाइलामा पर्यटक पुग्ने गर्छन् । समुद्री सतहबाट तीन हजार सात सय ७० मिटरमा पर्ने आमायाङ्ग्री पर्यटकको पहिलो रोजाइमा पर्छ ।

पदयात्रा रुचाउने प्रायःजसो आमायाङ्ग्री पुग्ने गरेको अध्यक्ष शेर्पाले जानकारी दिए ।  यो ठाउँमा पुग्न सवारीसाधन पुग्ने स्थानबाट झन्डै चार घन्टा उकालो लाग्नुपर्छ ।

किउलको सेर्माथान, मेलम्चीघ्याङस्थित पर्यटकका लागि लक्ष्य गरेर बनाइएको होटल, रिसोर्ट पहिलेकै सुविधासम्पन्न अवस्थामा ल्याइसकिएको छ । दुई दर्जन सडक, बिजुली, खानेपानीलगायत सबै सुविधा एकैसाथ गरिएपछि पर्यटकको रोजाइमा हेलम्बु परेको शेर्पा बताउँछन् ।

हेलम्बुबाट गोसाइँकुण्ड पदमार्ग हुँदै पुग्न सकिन्छ। सिमसिसाङ हिमाल, गन्जलापास-लाङटाङ क्षेत्र पुग्ने दुईदिने दुईवटा पदमार्ग बन्दै छ। त्यसैगरी सुन्दरीजल-कुन्टुङसाङ, घोप्टेघ्याङ-मेलम्चीघ्याङ, तिम्बु-मेलम्चीघ्याङ, पाल्चोक-ककनी, निगाले-ककनी, सेर्माथान-पाल्चोक भगवती, निन्देश्वरी महाकाल–आमायाङ्ग्रीजस्ता दर्जन पदमार्ग मर्मतको कामसमेत भइरहेको छ।

ह्योल्मो जातिको पहिचान गुम्बा, गुफा र मन्दिर भएकाले हेलम्बु आउनेको सङ्ख्या बढेको छ। पर्यटक आउने क्रम बढिरहेकाले किउल, हेलम्बु भेगका होटल, रिसोर्ट भरिन थालेको होटल सञ्चालक रोशनी लामा बताउँछिन् ।

‘भूकम्प र कोरोनापछि साम्य बनेको पर्यटन फेरि उठ्न थाल्यो, पर्यटक आउन थालेपपछि यहाँका रिसोर्ट ‘बुकिङ’ गर्ने क्रम बढ्न थालेको छ”, लामाले भनिन् ।

हेलम्बुको सुन्दरताबारे जानकारी पाएपछि यहाँ आइपुगेका पर्यटक बास बस्न तिम्बु झर्ने गरेको उनले जानकारी दिइन् । पर्यटकीय बस्तीका होमस्टे र कला संस्कृतिले पर्यटक लोभिँदै हेलम्बु आउने गरेका लामाको उनको भनाइ छ ।

‘धार्मिक र प्राकृतिक सम्पदाले पर्यटक आकर्षित हुँदैगएका छन्’, उनले भनिन् ।  अधिकांश पर्यटक यहाँ पदयात्राका लागि आउने गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित