प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभाको बैठक अवरोध
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभाको बैठक अवरोध
    • Bell Sanchar

    • १३ बैशाख २०८०, बुधबार

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको छ।

सत्तापक्षले नै दर्ता गराएको र आफू समर्थक मात्र रहेको जरूरी सार्वजनिक महत्वको प्रस्तावको छलफलमा अर्थमन्त्री अनुपस्थित भएको भन्दै एमालेले बैठकमा उभिएर विरोध गरेको हो।

एमालेको विरोधपछि बैठक १४ मिनेटका लागि स्थगित भएको छ।

एमाले सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्री उपस्थित नभए छलफलमा सहभागी नहुने बताएका थिए।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सरकारका अन्य मन्त्री उपस्थित भएको र अर्थ मन्त्रालयका कर्मचारीको टिपोटका आधारमा अर्थमन्त्रीले जवाफ दिने बताए पनि एमाले सांसदहरूले भौतिक रुपमा उपस्थित हुनुपर्ने अडान लिएका हुन्।

‘खेलाँची गरे जस्तो भयो। संसदको गरिमालाई होच्याउने काम गरियो’, एमाले सांसदले बैठकमा भने, ‘देशको अर्थतन्त्रसँग सम्बन्धित प्रस्तावको छलफल भौतिक रूपमा उपस्थित भएर सुन्नुपर्छ।’

अध्यक्ष तिमिल्सिनाले ‘मन्त्रीले ढिला आउनुपर्ने बाध्यता बताउनु भएको’ उल्लेख गरेका थिए। तर एमाले सांसदहरू उभिएपछि तिमिल्सिनाले बैठक स्थगित गरेका हुन्।

राष्ट्रिय सभामा मदनकुमारी शाह प्रस्तावक रहेको सुदृढ अर्थतन्त्र निर्माणका लागि नीति निर्माणसम्बन्धी प्रस्ताव माथि छलफल राखिएको थियो।

अर्थमन्त्री प्रकाशशरण महत उपस्थित भएपछि राष्ट्रिय सभाको बैठक फेरि सुरू भएको छ।

साताकाे चर्चित
सम्बन्धित