बाबुराम भट्टराई ,बेपत्ता पारिएका नागरिकको खोजी र सत्य निरुपण विषय संवदेनशील रहेकाले विधेयक छिटो अघि बढाउनुपर्ने
बाबुराम भट्टराई ,बेपत्ता पारिएका नागरिकको खोजी र सत्य निरुपण विषय संवदेनशील रहेकाले विधेयक छिटो अघि बढाउनुपर्ने
    • Bell Sanchar

    • १४ बैशाख २०८०, बिहीबार

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बेपत्ता पारिएका नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विषय संवदेनशील रहेकाले विधेयक छिटो अघि बढाउनुपर्ने बताएका छन्।

बुधबार पोखरामा आयोजित एक कार्यक्रममा भट्टराईले विभिन्न मानिसका चलखेल र धमिलो पानीमा माछा मार्ने प्रवृत्तिले गर्दा आयोगसम्बन्धी विधेयक लामो समय अड्काएर राखिएको बताए।

त्यसकारण शान्ति प्रक्रिया सुरू भएको र संविधान निर्माणको लामो समय हुँदासमेत शान्ति प्रक्रियामा व्यवस्था भएका बेपत्ता भएका नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलाप आयोगको काम पूरा नभएको उनले बताए।

हालसालै मात्र प्रमुख दलहरुबीच सो सम्बन्धमा भएको सहमतिबारे भट्टराईले भने, ‘विधेयक विशेष समितिमार्फत छिटो अघि बढाउने र आयोगबाट टुङ्गो लगाउने भन्ने भएको छ । अब आरोप प्रत्यारोप नगरिकन संवेदनशील विषयलाई छिटोभन्दा छिटो टुङ्गाउनुपछ।’

भट्टराईले सहिद, बेपत्ता तथा घाइतेको विषय माओवादीको मात्र विषय नभएको बताए।

जनुयद्धले लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीतालगायत विषय सबै पार्टी र जनताको भएकाले त्यसका लागि लड्नेको समस्या पनि सबैको हुने उनको भनाइ छ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले जनताको असन्तुष्टिलाई सम्बोधन गर्न नसके देश डरलाग्दो अराजकतामा फस्नेसमेत उल्लेख बताए।

‘देशमा चरम असन्तुष्टि छ । केही समययताका परिघटना हेर्नुस् वा उपनिर्वाचनलाई हेर्नुस् । जुन प्रकारका असन्तुष्टिहरु व्यक्त भईराखेका छन्। यसलाई गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भने।

उनले  लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर छिटोभन्दा छिटो जनतालाई सुशासन र समृद्धिको जनताको चाहना पूरा गर्नेतर्फ लाग्नुपर्ने बताए।

साताकाे चर्चित
सम्बन्धित