कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज तेस्रो पटक विश्वासको मत लिँदै
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज तेस्रो पटक विश्वासको मत लिँदै
    • Bell Sanchar

    • १५ बैशाख २०८०, शुक्रबार

सुर्खेत। 

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज तेस्रो पटक विश्वासको मत लिँदैछन्।

मुख्यमन्त्री शर्माले विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न ३ बजे प्रदेश सभा बैठक बोलाइएको कर्णाली प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।

२०७९ चैत २७ गते तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले तेस्रोपटक विश्वासको मत लिनुपर्ने भएको हो।

नेकपा माओवादी केन्द्रका शर्मा २०७९ पुस २७ गते नेकपा एमाले, राप्रपा र नेकपा(एकीकृत समाजवादी) को समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।

शर्माले माघ ६ गते पहिलो पटक संसदबाट विश्वासको मत लिएका थिए।

फागुन १८ गते राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले दोस्रो पटक विश्वासको मत लिएका थिए।

नेकपा एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस सरकारमा सहभागी भएको थियो।

तेस्रो पटक विश्वासको मत लिन लागेका मुख्यमन्त्री शर्मालाई नेकपा माओवादीका १३, नेपाली काँग्रेसका १४, नेकपा (एस) का १ जना सांसदसहित २८ जनाको समर्थन छ।

यसअघि समर्थन गर्दै आएका एक जना स्वतन्त्र सांसदको पनि समर्थन पाए शर्माले २९ जना प्रदेश सभा सदस्यबाट विश्वासको मत पाउनेछन्।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपा एमालेका १० र राप्रापाका १ जना सांसद छन्।

साताकाे चर्चित
सम्बन्धित