मुम्बईमा साढे दुई महिना उपचार गराएपछि भण्डारी आज साँझ ५ बजे नेपाल वायुसेवा निगमको जहाजमाफ्त काठमाडौं आइपुग्ने
मुम्बईमा साढे दुई महिना उपचार गराएपछि भण्डारी आज साँझ ५ बजे नेपाल वायुसेवा निगमको जहाजमाफ्त काठमाडौं आइपुग्ने
    • Bell Sanchar

    • १७ बैशाख २०८०, आईतवार

काठमाडौं ।

खाना पकाउने ग्यास लीक भएपछिको आगलागीमा परी गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी भारतमा उपचार गराएपछि नेपाल फर्किँदैछन् ।

गत फागुन ३ गते राति काठमाडौंको बुद्धनगररस्थित निवासमा आगलागीमा परेपछि उनी घाइते भएका थिए । भण्डारीलाई सोही राति नै कीर्तिपुर अस्पतालमा उपचारको लागि लगिएको थियो । तर भोलिपल्टै थप उपचारको लागि भारतको मुम्बई लगिएको थियो ।

अवस्था गम्भीर बनेपछि मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो । मुम्बईमा साढे दुई महिना उपचार गराएपछि भण्डारी आज साँझ ५ बजे नेपाल वायुसेवा निगमको जहाजमाफ्त काठमाडौं आइपुग्ने भएका हुन् ।

मुम्बईस्थित नेशनल बर्न सेन्टरबाट उनी डिस्चार्ज भइसकेका छन् ।

स्वास्थ्यमा क्रमिक सुधार आएपछि भण्डारी नेपाल फर्किन लागेका हुन् । जटिल अवस्थाको उपचार भारतमा गराएपछि बाँकी उपचार नेपालमै गराउने उनले यस अघि नै बताइसकेका थिए ।

नेपाल फर्किएपछि फिजियोथेरापी र घाउ ड्रेसिङसहितको उपचार गर्नुपर्ने बुझिएको छ । पछिल्लो स्वास्थ्य अवस्थाअनुसार उनी सामान्य बोलचाल गर्न र हिँडडुल गर्न भने सक्ने भएका छन् ।

आगलागीमा घाइते भएकी उनकी आमा हरिकलाको भने उपचारकै क्रममा ४ फागुनमा कीर्तिपुर अस्पतालमा निधन भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित