चन्द्र भण्डारी ,आगलागीबाट हुने मृत्युदरलाई कम गर्ने लक्ष्यका साथ अभियान चलाउँछु
चन्द्र भण्डारी ,आगलागीबाट हुने मृत्युदरलाई कम गर्ने लक्ष्यका साथ अभियान चलाउँछु
    • Bell Sanchar

    • १७ बैशाख २०८०, आईतवार

काठमाडौं ।

कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले नेपालमा आगलागीबाट हुने घटनाहरु कम गर्न तथा त्यसबाट हुने मृत्युदर  घटाउन पैरवी गर्ने बताएका छन् ।

बाँच्छु भन्ने आशा पलाएपछि आफूले सो संकल्प गरेको उल्लेख गर्दै भण्डारीले अबको आफ्नो अभियान ‘कुनै नेपालीले आगोमा जल्नु नपरोस्, आगलागीमा परेको कुनै पनि नेपालीले मर्नु नपरोस्’ भन्ने रहेको बताए ।

गत फागुन ३ गते खाना पकाउने ग्यास चुहावटका कारण उनी गम्भीर घाइते भएका थिए । दुर्घटनालगत्तै कीर्तिपुर अस्पतालमा प्रारम्भिक उपचार गराएपछि भारतको मुम्बइस्थित नेशनल बर्नस् सेन्टरमा उनको थप उपचार भएको थियो । उपचारपछि भण्डारी  आइतबार स्वदेश फर्किएका हुन् ।

एउटै दुर्घटनामा परेकी आमाको भोलिपल्ट निधन भएकोप्रति उनले दुःख व्यक्त गरेका छन्,  उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा आगलागीबाट हुने घटनाहरु कम गर्न नीति निर्माणका तहमा वा अन्य कुनै पनि ढंगले योगदान गर्न सकें भने त्यो मेरी आमाका लागि सच्चा श्रद्धाञ्जली हुनेछ ।’

उनले अगाडि भनेका छन्, ‘जुन दिन अब चाहिँ बाँच्छु जस्तो लाग्यो, नेपालमा आगलागीबाट हुने घटनाहरु कम गर्न तथा आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्छु, काम गर्छु भन्ने संकल्प गरें ।

त्यसैले, मेरो अभियान हुनेछ – कुनै नेपालीले आगोमा जल्नु नपरोस्, आगलागीमा परेको कुनै पनि नेपालीले मर्नु नपरोस् ।’

उनले सातैवटा प्रदेशमा बर्नस् अस्पताल बनाउन र जनशक्ति तयार गर्न आवश्यक बजेटको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘संघीय सांसदका हैसियतमा यसका लागि आवश्यक नीतिगत सुधार तथा कानुनी व्यवस्थाका लागि म सदैव लागिपर्नेछु’, विज्ञप्तिमा भनिएको छ, ‘आगलागीका घटनाहरु न्यूनीकरण गर्ने र त्यस्ता घटना भइहाले दुर्घटनामा परेका नागरिकको शीघ्र उपचारको व्यवस्थाका लागि लागिपर्ने मेरो जीवनको उद्देश्य हुनेछ ।’

यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहयोग गर्न तयार रहेको पनि उनले बताएका छन् ।

संघीय सांसदका रुपमा आफ्नो कार्यकाल अझै साढे चार वर्ष बाँकी रहेको उल्लेख गर्दै उनले यो अवधिमा आगलागीबाट हुने मृत्यु दरलाई आधाले कम गर्ने लक्ष्य लिएर अभियानको नेतृत्व गर्ने पनि प्रतिबद्धता जनाएका छन् । यसमा सबैको साथ र सहयोग मिल्ने उनको आशा छ ।

साताकाे चर्चित
सम्बन्धित