एमालेको केन्द्रीय कमिटीको बैठक वैशाख २८, २९ र ३० गते झापाको दमकमा हुने तय भएपछि तयारी
एमालेको केन्द्रीय कमिटीको बैठक वैशाख २८, २९ र ३० गते झापाको दमकमा हुने तय भएपछि तयारी
    • Bell Sanchar

    • १९ बैशाख २०८०, मंगलवार

काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक वैशाख २८, २९ र ३० गते झापाको दमकमा हुने तय भएपछि तयारी थालिएको छ ।

एमाले झापाले बैठक हुने स्थान दमक चयन गर्दै आवश्यक तयारी गरिरहेको पार्टीका जिल्ला अध्यक्ष दीपक कार्कीले बताए ।

उनका अनुसार केन्द्रीय कमिटीको बैठक दमकको कश्मिक पार्टी प्यालेसमा हुने र उद्घाटन सभा दमक पशुहाटको खुला मैदानमा गरिने उनले जानकारी दिए ।

एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते कार्यकर्ता भेलाबाटै बैठकको उद्घाटन गर्ने भएका छन् ।

वैशाख २९ र ३० गते कश्मिक पार्टी प्यालेसमा बैठकको बन्दसत्र सञ्चालन हुने अध्यक्ष कार्कीले बताए ।

बैठकमा सहभागी पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यलाई बैठकपश्चात वैशाख ३१ गते सुखानीलगायत झापा र इलाम जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थलको अवलोकन गराइने कार्यक्रम रहेको उनले जानकारी दिए । मुलुककै होचो स्थान कचनकबल, महाभारतकालीन किचकबधस्थल, झापा विद्रोहमा सहादत प्राप्त गरेको स्थल सुखानी, सहिद पार्क सालबारी, कन्याम लगायतका स्थान अवलोकन भ्रमणको सूचीमा परेका छन् ।

विक्रम संवत् २०४५ सालयता झापामा पहिलोपल्ट पार्टीको केन्द्रीय कमिटीको बैठक हुन लागेको जनाउँदै उनले झापा बैठकले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइ प्रदान गर्न योगदान पुर्‍याउने धारणा व्यक्त गरे ।

चितवन, बारा र तनहुँ जिल्लामा भएको उपनिर्वाचनपश्चात र कोशी प्रदेशको नामाकरणका विषयमा पूर्वमा पहिचानवादी दल र संघसंस्थाहरूले आन्दोलन गरिरहेका बेला नेकपा एमालेको केन्द्रीय बैठक पार्टी अध्यक्ष ओलीको गृहजिल्ला झापाको गृहनगर दमकमा आयोजना हुन लागेको छ ।

साताकाे चर्चित
सम्बन्धित