अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित
अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित
    • देवराम प्रसाद यादव

    • २५ बैशाख २०८०, सोमबार

तराई मधेशका सप्तरीलगायतका जिल्लामा तापमान ४० डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ । प्रचण्ड गर्मीको कारण तापक्रम बढ्दै जाँदा तराई मधेशमा जनजीवन प्रभावित बनेको हो । राजविराजको ४० दशमलव चार डिग्री सेल्सियस ताप मापन गरिएको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका तराई, मधेश तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन स्वास्थ्य कार्यालय सप्तरीले अनुरोध गरेको छ ।

गर्मीका कारण तराई, मधेशका सप्तरी तथा यस आसपासका स्थानीयवासीको दैनिकी प्रभावित बनेको छ । बजार सुनसान देखिन थालेका छन् । मानिस मात्र नभई चराचुरुङ्गी र अन्य जनावर पानी एवं शीतल खोज्न थालेका छन् । सप्तरीमा तातो बढ्दै जाँदा दैनिकरूपमा गरी खाने वर्गलाई समस्या पर्न थालेको छ।

केही दिनअघिदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या उत्पन्न भएको छ । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज प्रभावित भएको छ ।

गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गर्मीका कारण अस्पतालमा आउने बिरामीको चाप पनि बढ्दै गएको छ । सामान्य अवस्थामा दैनिक १५० देखि दुई सयसम्म बिरामी आउने यस अस्पतालमा अहिले गर्मीकै कारण दैनिक ३५० सम्म बिरामी आउने गरेको अस्पतालका प्रमुख डा. प्रकाशप्रसाद साहले बताउनुभयो। उहाँले अधिकांश झाडापखाला, वान्ता र भाइरल खोकीका बिरामी अस्पताल आउने गरेको बताउनुभयो ।

अहिले अत्यधिक गर्मीका कारण बच्चाको मुख सुक्ने, पानीको कमी हुनेलगायतको समस्या देखिएका कारण उनीहरूलाई झोलिलो पदार्थ खान दिन डा. साहले आग्रह गर्नुभएको छ ।

तातो हावाले वायु प्रदूषण हुने र यसले बालबालिका, वृद्धवृद्धा र बिरामीको श्वासप्रश्वासमा असर पुर्‍याउने चिकित्सकहरू बताउँछन् । यस्तो गर्मीमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनुपरे छाता ओढेर हिँड्न र प्रशस्त पानी पिउनुपर्ने स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताउनुभयो

साताकाे चर्चित
सम्बन्धित