कसैले रोक्न नसक्ने स्थिति आएपछि नक्कली शरणार्थी प्रकरण बाहिर आयो : केपी ओली
कसैले रोक्न नसक्ने स्थिति आएपछि नक्कली शरणार्थी प्रकरण बाहिर आयो : केपी ओली
    • Bell Sanchar

    • २८ बैशाख २०८०, बिहीबार

काठमाडौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले रोक्न नसक्ने स्थिति आएपछि नक्कली शरणार्थी प्रकरण बाहिर आएको बताएका छन् । कसैलाई फसाउन अनुसन्धानको सुई घुमाइएको उनले आशंका गरे ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय कमिटीको ५ औं बैठकलाई सम्वोधन गर्दै ओलीले रोक्नै नसक्ने परिस्थिति भएपछि मात्र शरणार्थी प्रकरणको भ्रष्टाचार काण्ड बाहिर आएको बताएका हुन् ।

‘रोक्न नसकिने गरी यस्तो परिस्थिति निर्माण भयो, भ्रष्टाचार सतहमा आयो । कसैले रोक्न नसक्ने गरी छताछुल्ल भयो । अब जे सुकै गरे पनि यो भ्रष्टाचारको काण्ड दोषीलाई कारवाही गर्नुहुन्छ’ ओलीले भने ।

अदालतबाट दोषी नहुँदासम्म कसैलाई भ्रष्टाचारी करार गर्न नमिल्ने उनले बताए । ‘छानबिन र अदालतको प्रक्रिया बाँकी रहँदासम्म धारणा बनाउन सकिँदैन । जबसम्म दोषी करार नहुँदासम्म करार गर्न सक्दैनौं । कोही कसैलाई फसाउन अनुसन्धानको सुई कता धकेल्न खोज्ने त्यस्ता प्रयास पनि भइरहेको देखेका छौं’ ओलीले भने ।

देशमा भ्रष्टाचार बढेको भन्दै ओलीले माओवादीको शिविरमा गरिएको भ्रष्टाचारको अनुसन्धान शुरु गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराए । ‘पहिला पनि लडाकुको नाममा लिइएको पैसा दुरुपयोग भएको थियो, अहिले पनि कार्यकर्ताको नाममा भ्रष्टाचार गर्न खोजिँदैछ’ ओलीले भने ।

ओलीले कृष्णप्रसाद भट्टराई कांग्रेस सभापति रहेको समयमा राजनीति पीडित भनेर कार्यकर्तालाई पैसा बाँडियो, राजबन्दी भनेर मैले पाएको ७५ हजार रूपैयाँ फिर्ता गरेको ओलीले स्मरण गरे ।
बैठकको शुरुमा एमाले महासचिव शंकर पोखरेलले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी गराएका थिए ।

साताकाे चर्चित
सम्बन्धित