भत्केको पुलमुनि आमरण अनशन बसे पूर्वमन्त्री सञ्जय गौतम
भत्केको पुलमुनि आमरण अनशन बसे पूर्वमन्त्री सञ्जय गौतम
    • Bell Sanchar

    • ३१ बैशाख २०८०, आईतवार

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सांसद सञ्जयकुमार गौतम आमरण अनशन बसेका छन्।

१५ वटा माग पूरा गराउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउन पूर्वमन्त्रीसमेत रहेका गौतम शनिबारदेखि अनशन बसेका हुन्।

उनले समस्त बर्दियाका जनताका तर्फबाट आफू अनशनमा बसेको बताएका छन्।

उनले जब्दीघाटको भत्किएको पुलमुनि अनशनलाई जारी राखेका हुन्। यो पुलका संरचना हटाएर तत्कालै नयाँ पुल बनाउनसमेत उनले माग गरेका छन्।

बर्दिया सदरमुकाम जोखिममा रहेकोले तत्काल तटबन्धनको बाँकी काम पूरा गर्नुपर्ने, बबई सिँचाइ आयोजना ३ वर्षभित्र पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने, भुरीगाउँ-तेलपानी-सुर्खेत सडक खण्ड निर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरू गर्न उनले सरकारसँग माग गरेका छन्।

साथै गुलरिया मूर्तिया नाका तुरून्त सुचारू गर्नुपर्ने, मध्यवर्ती क्षेत्रका बासिन्दालाई नि:शुल्क बीमा व्यवस्था गरिनुपर्ने, बाढीपीडितलाई भूकम्पपीडित सरह राहत दिने व्यवस्था लागु गरिनुपर्ने, कपास विकास समिति विघटन गरी किसानहरूलाई मोही सरह हैसियत दिनुपर्ने, सत्तिघाट पुलमा आवश्यकताअनुसार स्पान थप गर्नुपर्ने माग पनि उनले राखेका छन्।

गत वर्ष बेमौसमी वर्षातका कारण बालीनालीमा क्षति पुगेकोले त्यसबेला घोषणा गरेअनुसार राहत दिनुपर्ने, राजापुर सिँचाइ आयोजनाको दोस्रो चरणको कामका लागि बजेट विनियोजन गरिनुपर्ने माग उनले राखेका हुन्।

अव्यवस्थित र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्न पनि उनले सरकारसँग माग गरेका छन्।

किसानलाई बीऊ र मललगायत उपलब्ध गराउने र उचित बजार व्यवस्थापन गरिनुपर्ने र बर्दियामा एक कृषि पोलिटेक्निक स्थापना गर्नुपर्ने उनको माग छ।

सबैखाले भ्रष्टाचारको प्रभावकारी छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने मागसमेत उनले राखेका छन्।

साताकाे चर्चित
सम्बन्धित