एक महिनामा देशभर ६२१ वन डढेलो र आगलागीका घटना
एक महिनामा देशभर ६२१ वन डढेलो र आगलागीका घटना
    • Bell Sanchar

    • ३१ बैशाख २०८०, आईतवार

काठमाडौं ।

आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४  वन डढेलोका घटना घटेका छन् ।प्राधिकरणका अनुसार आगलागीमा ११ र डढेलोमा परेर पाँच जनाले ज्यान गुमाएका छन् भने ६५ जना घाइते भएका छन् ।

गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना बढ्न थालेका र एक महिनामा आगलागी र वन डढेलोका छ सय २१  घटनामा मानवीयसँगै अन्य भौतिक तथा संरचनागत क्षति भएको प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माले जानकारी दिए ।

आगो तथा डढेलो लागेको देख्नेवित्तिकै पूर्वतयारीबिना निभाउन जाँदा घाइते हुने तथा ज्यानै जाने जोखिममा पर्ने भएकाले आगो तथा डढेलो फैलिएका बेला जोखिम नमोल्न र सुरक्षाको उपायबिना त्यस्तो ठाउँमा नजान उनले आग्रह गरे ।

यसैगरी जङ्गलमा लागेको डढेलो निभाउन पानीसँगै हरियो स्याउला, माटोको पनि प्रयोग गर्न सकिने भएकाले सोको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ ।

सकेसम्म आगो तथा डढेलो लाग्न नदिन चुरोटका ठुटा जथाभावी नफाल्न, आगो लागिसकेको ठाउँमा जलेका वस्तु माटोले पुरिदिन पनि प्राधिकरणको समुदायलाई आग्रह छ ।

साताकाे चर्चित
सम्बन्धित