नक्कली मह बनाएर बिक्री गरेको आरोपमा ७ जना पक्राउ
नक्कली मह बनाएर बिक्री गरेको आरोपमा ७ जना पक्राउ
    • Bell Sanchar

    • ३१ बैशाख २०८०, आईतवार

 काठमाडौं।

नक्कली मह बनाएर बिक्री गरेको आरोपमा ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार वीरपुरका ५२ वर्षीय मनिस धामी, ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधीर धामी, २० वर्षका रविन धामी, ४८ वर्षीय अरुण धामी र २८ वर्षीय वुदुवा धामी रहेका देवीनगर प्रहरी चौकीका प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिए । उनीहरूको साथबाट चार क्विन्टल महसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

नक्कली मह उत्पादनका लागि कारखाना सञ्चालन गरेको गोप्य सूचनाका आधारमा गए राति स्थानीयको पहलमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

बुटवल–११ सृजनानगरमा ४ वटा घर भाडामा लिएर उनीहरूले मह बनाउने गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

देवीनगर प्रहरी चौकीका प्रमुख न्यौपाने नेतृत्वको टोलीले ४ वटा घरमा राखिएको विभिन्न सामग्रीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उनीहरूले उत्पादन गरेको मह प्रतिकिलो १ हजार ६०० रूपैयाँमा बिक्री गर्ने गरेका थिए । बरामद भएको केही मह बुटवल–११ स्थित सिर्जना नगरमा नष्ट गरिएको छ भने केही मह वडा प्रहरी कार्यालय रामनगरमा लगिएको छ ।

उनीहरूले कारखाना नै स्थापना गरेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्ने नक्कली मह उत्पादन गर्दै आएका प्रहरीले जनाएको छ ।

बुटवलका अन्य ठाउँमा पनि नक्कली मह तयार गरेर बिक्री गरिएको आशंका गर्दै प्रहरीले खोजी कार्यलाई तीव्र बनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित