आरजु राणा ,भुटानी शरणार्थी प्रकरणमा मेरो चरित्रमाथि बलात्कार भयो
आरजु राणा ,भुटानी शरणार्थी प्रकरणमा मेरो चरित्रमाथि बलात्कार भयो
    • Bell Sanchar

    • १ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले देशमा फेक न्युज र फेक मिडिया पराकाष्ठामै पुगेको बताएकी छन्।

राणा देशबाहिर गएका खबर केही दिनअघि विभिन्न सञ्चार माध्यमहरूमा आएका थिए।

त्यसप्रति लक्षित गर्दै प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै राणाले भनिन्, ‘आज म यहाँ उपस्थित भएको सबैले देखिरहनुभएकै होला।

म यसपटक के भन्न चाहन्छु भने, हाम्रो देशमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा नै पुगिसकेको रहेछ।’

आफू सामाजिक सञ्जालमा सक्रिय नहुँदा यस्ता कुरा थाहा नपाएको पनि उनले बताइन्।

‘यो देख्दा मलाई के लाग्यो भने हाम्रो देशमा हुने फेक मिडियाको कुनै न कुनै किसिमले सरकारको नियमन हुनुपर्‍यो,’ उनले भनिन्।

उनले आफ्नो नाम लिएर नक्कली भुटानी शरणार्थीसम्बन्धी बनाइएको अडिओको छानबिन हुनुपर्ने बताइन्।

‘मैले ६ दिन अगाडि यस्तै अर्को फेक अडिओ, मेरो नाम लिएर बनाइएको नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताबारे भनेर बनाएको फेक अडिओबारे फरेन्सिक टेष्टका लागि सिआइबी र साइबर क्राइम सेलमा दिएको थिएँ। दर्ता गर्न पनि मानिएको थिएन,’ उनले भनिन्, ‘तीन घन्टा लाग्यो दर्ता गर्न। ६ दिन हुँदा पनि त्यो अडिओ फेक हो कि होइन भनेर किन बताउन सकिएको छैन?’

उनले आफ्नो र अरूको पनि फेक अडिओ बनेको बताएकी छन्। सरकारले अडिओको सत्यतथ्य बाहिर ल्याउनुपर्ने पनि उनले बताइन्।

साताकाे चर्चित
सम्बन्धित