नक्कली शरणार्थी प्रकरणले हामीलाई असर पर्‍यो ,भुटानी शरणार्थीले भने
नक्कली शरणार्थी प्रकरणले हामीलाई असर पर्‍यो ,भुटानी शरणार्थीले भने
    • Bell Sanchar

    • २ जेष्ठ २०८०, मंगलवार

काठमाडौं ।

नेपालमा रहेका भुटानी शरणार्थीले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण आफूहरु मारमा परेको बताएका छन् ।

भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यबाहक अध्यक्ष तिलक राईले विज्ञप्ति जारी गर्दै आफूहरुको शरणार्थी परिचयपत्र ८ महिनादेखि नवीकरण नहुँदा परिचयविहीन बन्नुपरेको बताएका छन् ।

नवीकरणमा ढिलासुस्ती गरेर गैरभुटानीलाई भुटानी शरणार्थी बनाइने हो कि भन्ने आशंकासमेत भएको भन्दै कार्यबाहक अध्यक्ष राईले अविलम्ब परिचयपत्र वितरण गर्न माग गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र, निष्पक्ष छानबिन आयोग गठन गरी दोषीमाथि कारबाही गर्न पनि राईले माग गरेका छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दा अनुसन्धानका क्रममा पूर्वउपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, संविधानसभाका सदस्य आङटावा शेर्पा, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत उच्च पदस्थ व्यक्ति नै पक्राउ परेका छन् ।

भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका कार्यबाहक अध्यक्ष राईले स्वदेश फिर्ती र परिवार मिलनको प्रतीक्षामा रहेका ६ हजार ५०० र पञ्जीकृत हुन बाँकी भुटानीको हितलाई ध्यानमा राख्नसमेत सरकारसँग माग गरेका छन् ।

उनले भुटानी शरणार्थी समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि सरोकारवालाबीच वार्ताका लागि पहल गरिदिन सरकारसँग मागसमेत गरेका छन् ।  अनलाइनखबर

साताकाे चर्चित
सम्बन्धित