लुम्बिनीमा मन्त्रीबाट राजीनामा दिएको तीन महिना बित्दा पनि गुप्ताले फिर्ता गरेनन् गाडी
लुम्बिनीमा मन्त्रीबाट राजीनामा दिएको तीन महिना बित्दा पनि गुप्ताले फिर्ता गरेनन् गाडी
    • Bell Sanchar

    • २ जेष्ठ २०८०, मंगलवार

काठमाडौं ।

लुम्बिनी प्रदेशमा केही समय सामाजिक विकासमन्त्री बनेका चन्द्रकेश गुप्ताले राजीनामा दिएको ३ महिना बित्दा पनि सरकारी गाडी फिर्ता गरेका छैनन्।

गुप्ता माघ २८ गते तत्कालीन मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री नियुक्त भएका थिए। जनमत पार्टीको तर्फबाट रूपन्देही क्षेत्र नं ५ (२) बाट निर्वाचित सांसद गुप्ताले गत चैत १२ गते मन्त्री पद त्याग्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

तर मन्त्री पदबाट राजीनामा दिएको डेढ महिना बढी समय भइसक्दा पनि उनले सरकारी गाडी प्रयोग गरिरहेको मन्त्रालय स्रोतले बताएको छ।

गुप्ताले मन्त्रीबाट राजीनामा दिए पनि मन्त्री हुँदा मन्त्रालयले मन्त्रीको रूपमा प्रयोग गर्न दिएको लु १ झ ७४१ नम्बरको स्कारपियो जिप आफैंले प्रयोग गरिरहेका छन्।

मन्त्रीले प्रयोग गर्ने रातो र निलो रंगको नम्बर प्लेट भएको उक्त सरकारी गाडीलाई गुप्ताले अहिले सेतो नम्बर प्लेट बनाएर प्रयोग गरिरहेका छन्। गुप्ता गएको उपनिर्वाचनमा पिएसओ र सरकारी गाडीसहित बारा पुगेर निर्वाचन प्रचार प्रसारमा खटिएका थिए।

मन्त्रालयका सूचना अधिकारी लक्ष्मण ज्ञवालीले मन्त्रीले आफैंले गाडी फिर्ता गर्नुपर्नेमा नगरेको र मन्त्रालयले पनि पत्र लेखेर फिर्ता माग्ने काम नभएको बताए।

‘उहाँले गाडी फिर्ता गर्नुभएको छैन। मन्त्रालयले पत्र लेखेर गाडी फिर्ता मागेको जानकारी भएन, एकपटक प्रशासनमा बुझ्नु पर्ला’, ज्ञवालीले भने।

यसअघि समेत सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँँ गठबन्धनमा सामेल भएको थियो। अहिले नयाँ सरकारको तयारी भइरहेको र उनी पनि मन्त्री बन्ने सम्भावना भएकोले मन्त्रालयले ताकेता नगरेको बताउँदै आएको छ।

मन्त्रालयका प्रशासन शाखा प्रमुख सुदर्शन शर्माले लुम्बिनी प्रदेशसभा सदस्य समेत रहेका चन्द्रकेश गुप्ता मन्त्री बन्ने सम्भावना रहेकाले गाडी फिर्ता नमागिएको बताए।

‘उहाँँ मन्त्री बन्दै हुनुहुन्छ त्यसैले गाडी मागिएन,’ उनले भने।

लुम्बिनी प्रदेशमा ३ जना सांसद रहेको जनमत पार्टीबाट गुप्ता मन्त्रीका प्रमुख दाबेदार हुन्।

सेतोपाटी

साताकाे चर्चित
सम्बन्धित