पछिल्लो एक दशकयता जापान विश्वमा सबैभन्दा लामो आयु हुने देशको सूचीमा पहिलो स्थान
पछिल्लो एक दशकयता जापान विश्वमा सबैभन्दा लामो आयु हुने देशको सूचीमा पहिलो स्थान
    • Bell Sanchar

    • ३ जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

पछिल्लो एक दशकयता जापान विश्वमा सबैभन्दा लामो आयु हुने देशको सूचीमा पहिलो स्थानमा छ ।

जापानी नागरिकहरुको औसत आयु ८० वर्षभन्दा बढी रहेको विभिन्न तथ्यांकले देखाएका छन् । जुन विश्वको औसत आयुभन्दा करिब १० वर्ष बढी हो ।

सन् २०२० को तथ्यांक अनुसार जापानीहरुको औसत आयु ८५ वर्ष छ ।

अर्कोतर्फ सन् २०१९ मा सार्वजनिक एक प्रतिवेदनमा जापानका ७१ हजारभन्दा बढी मानिसको उमेर १०० वर्ष नाघेको थियो । त्यस्तै २३ लाखको उमेर ९० वर्ष नाघेको छ ।

जापानीहरु किन लामो आयु बाँच्छन् त ? यसको कारण हामीलाई पनि अनुकरणीय हुन सक्छ । खासमा जापानीहरुको जीवनशैली, खानपान र चिन्तन लामो आयुको मुख्य राज हो ।

१. जापानी खाना

जापानका मानिसहरूको आहारलाई विश्वको सबैभन्दा सन्तुलित आहार मानिन्छ । सी फुड, भटमासबाट बनेको खानेकुरा र अत्यधिक तरकारी उनीहरुको रोजाइमा हुन्छ । उनीहरु डीप फ्राइ भन्दा उमालेको खाना खान रुचाउँछन् । जापानीहरू रेड मिट, चिनी, आलु र दुग्धजन्य पदार्थबाट टाढा रहन्छन् । फास्टफुड उनीहरुको प्राथमिकतामा पर्दैन ।

माछामा रेड मिटको तुलनामा न्यून कोल्सेट्रोल, स्याचुरेटेड फ्याट हुन्छ । जसले मुटुको रोगको जोखिम ३६ प्रतिशतले कम गर्छ । जसकारण उनीहरु रोगबाट टाढा रहने र उनीहरुको छालाको गुणस्तर राम्रो हुन्छ ।

२. खाना कम खाने र राम्ररी चपाउने

खाना सधैं बिस्तारै चपाएर खानुपर्छ भनिन्छ । बिस्तारै खाना चपाउँदा थप पोषक तत्व र ऊर्जा अवशोषित गर्न मद्दत गर्छ । यति मात्र होइन, शरीरको तौल नियन्त्रण गर्न पनि यसले मद्दत गर्छ । जापानीहरु यो कुरालाई व्यवहारमै लागू गर्छन् ।

८० प्रतिशत पेट नभरेसम्म मात्र खाना खाने जापानीहरुको यो नियम मन्त्र जस्तै नै छ ।  उनीहरु टन्न हुनेगरी खाना खाँदैनन्  । हतार नगरी थोरै गाँसले र स्वाद लिंदै राम्ररी चपाएर बिस्तारै ठिक्क खाने गर्छन् ।  त्यसैले उनीहरु सानो प्लेटमा चप स्टिकले खाना खान्छन्, ताकि धेरै खाना खानबाट बच्न सकियोस् ।

खाना कति मीठो छ भन्ने कुरामा भन्दा पनि कति पोषक तत्व प्राप्त हुन्छ भन्नेमा उनीहरुको ध्यान हुन्छ । क्यालोरी कम भएको खानेकुरा उनीहरुले खाने भएकाले जापानमा मोटोपनको दर ३.६ प्रतिशत छ, जुन विश्वकै न्यूनमध्येमा पर्छ ।

३. ब्रेकफास्टमा जोड

जस्तोसुकै अवस्थामा पनि जापानीहरु ब्रेकफास्ट खान बिर्संदैनन् । बिहानको खाजामा प्रायः बोइल्ड माछा, भात वा दाल हुन्छ ।

४. चियाप्रेमी

जापानीहरुलाई चियाप्रेमी भनिन्छ । किनकि उनीहरु चिया असाध्यै रुचाउँछन् । विशेषगरी ग्रीन टी मन पराउँछन्, जसमा कालो चिया वा कफीको तुलनामा थोरै मात्रामा क्याफिन हुन्छ । फलफूल र तरकारीमा जस्तै ग्रीन टीमा पनि उच्च एन्टिअक्सिडेन्ट गुण भरिपूर्ण हुन्छ । जसले   मोटोपन, मधुमेह र हृदयरोगको जोखिम कम हुन्छ ।

ग्रीन टीले शरीरलाई चिसोदेखि क्यान्सरसम्मका रोगबाट बचाउँछ । एन्टिअक्सिडेन्टले  एन्टी–एजिंगको काम गर्छ, जसले छालालाई जवान र सुन्दर देखाउन मद्दत गर्छ । त्यसैले पनि हुन सक्छ, उनीहरुलाई वास्तविक उमेरभन्दा पनि कम उमेरको देखाउँछ ।

५. पैदलयात्रालाई प्राथमिकता

जापानका मानिसहरू आसिन जीवनशैलीलाई घृणा गर्छन् । जवान र वृद्ध सबैलाई हिंड्न मन पर्छ । उनीहरु एकदमै सक्रिय हुन्छन् । स्वस्थ र फूर्तिलो रहन हिंड्न र टाढा पुग्न साइकलको सहारा लिन्छन् । जसले उनीहरुको शरीरको व्यायाम भइरहेको हुन्छ । विद्यार्थी र कर्मचारीहरू रेल स्टेसनसम्म हिंड्छन् वा साइकल चढ्छन् । युवा मात्र होइन वृद्ध पनि जतिसम्म सकिन्छ, शरीरलाई चलायमान राख्न सक्रिय रहन सकेको शारीरिक गतिविधि गर्छन् । त्यसैले पनि त्यहाँका वृद्धवृद्धा फूर्तिलो हुन्छन् र लामो आयुको लागि हिंड्नु र शरीरलाई सक्रिय राख्न सक्नु महत्वपूर्ण हुन्छ ।

६. तातोपानीमा नुहाउने

८५ प्रतिशत जापानी नागरिक सुत्नुअघि तातोपानीले नुहाउँछन् । यसले डिटोक्सीफिकेसन गर्छ । अर्थात् यसले छालाका छिद्र खुलाइ पसिनाले भित्र छालादेखिको विषाक्त पदार्थ निकाल्छ  र तनाव कम गर्छ । साथै रक्तसञ्चार सुधार गर्नेदेखि मांसपेशी दुखाइ कम गर्ने र प्रतिरोधात्मक क्षमता बढाउँछ । यो जापानी शैलीलाई अपनाएर हामीले पनि शरीर र दिमाग दुवैलाई शुद्ध बनाउन सक्छौं ।

७. उत्कृष्ट स्वास्थ्य सेवा प्रणाली

उनीहरुसँग विश्वकै उत्कृष्ट स्वास्थ्य सेवा प्रणाली छ । स्वास्थ्य सेवामा कुनै शंका छैन ।  त्यसमा पनि स्वास्थ्य सेवाको लागि सरकारले ७० प्रतिशत खर्च व्यहोर्छ । त्यति मात्र होइन, आयस्रोत कम हुनेको लागि ९० प्रतिशत स्वास्थ्य खर्च सरकारकै जिम्मेवारी हुन्छ ।

एजेन्सीको सहयोगमा

साताकाे चर्चित
सम्बन्धित