काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा जोसुकै मुछिए पनि कानूनी कारवाहीको दायरामा आउने बताएका छन् ।
प्रतिनिधिसभामा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारले यो प्रकरणमा दोषी देखिएका भीआईपी र भीभीआईपीलाई पनि नछाड्ने बताएका हुन् ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी देखिएका जुनसुकै दलका (व्यक्ति)लाई पनि कानूनी दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी राखेको छैन, राख्ने छैन ।
प्रहरीको अनुसन्धानमा कुनै निकायबाट हस्तक्षेप भएको छैन र हुन दिइने पनि छैन,’ प्रचण्डले भने, ‘दोषी कोही उम्किदैनन्, निर्दोष फस्दैनन् ।
तर, दोषी जोसुकै भए पनि कानूनी कारवाहीको दायरामा आउँछन् । भीआईपी र भीभीआईपी परेका छन् । छानबिनले पनि त्यो देखाएको छ ।’
निष्पक्ष छानबिनका लागि सरकार अघि बढेको भन्दै उनले यो विषय सबै दलका निम्ति संवेदनशील रहेको पनि बताए ।
‘निष्पक्ष, तटस्थ र व्यावहारिक छानबिन गरी अपराधीलाई कानूनको दायरामा ल्याउन सरकार दृढ छ ।
गृहमन्त्रीलाई दोषी नउम्किने र निर्दोष नपर्ने गरी काम अगाडि बढाउन निर्देशन दिएको छ ।
प्रहरीले पनि प्रक्रियालाई अगाडि बढाएको छ,’ प्रधानमन्त्रीले भने, ‘यो सबै दल, राजनीतिक नेतृत्व र देशकै निम्ति संवेदनशील विषय छ ।
कारवाहीको दायरा ल्याएमा मात्रै सुशासन दिन सकिन्छ भन्नेमा सरकार दृढ छ ।’