प्राधिकरणले तह १० र त्यसभन्दामाथिका पदाधिकारी एवम् कार्यालय प्रमुख/आयोजना प्रमुखलाई अतिरिक्त समय भत्ता (ओभर टाइम) र खाजा खर्च नदिने निर्णय पनि गरेको छ ।
प्राधिकरणमा कार्यालय समयमा बैठक बस्ने तर कार्यालय समय सुरु हुनुभन्दा अगाडि र सकिए पछाडिको समय मिलाएर भत्ता खाने विकृति तथा विसंगति रहेको छ ।
‘बैठक कार्यालय समयमा बस्छ, तर भत्ता खानका लागि बिहान १० बजे अगाडि र साँझ ५ बजेपछि बसेको देखिने गरी कागज मिलाएर भत्ता लिने गरिएको छ, इन्जिनियरिङ निर्देशनालय मातहत त काठमाडौंमै बस्ने तर साइट गएको कागजात बनाउन भ्रमण भत्ता खाने प्रवृति पनि छ’, प्राधिकरण लेखा विभाग स्रोतले भन्यो, ‘मासिक रुपमा भत्ता वापत २/३ लाख रुपैयाँ अतिरिक्त बुझेको देखिन्छ, यसलाई नियन्त्रण गर्न व्यवस्थापनको ध्यान जानु पर्ने देखिन्छ ।’
पदपूर्ति, विद्युत व्यापारलगायतका विभागमा बैठक भत्ताको ठूलो विसंगति समेत छ । विद्युत व्यापार विभागमा विद्युत् खरिद बिक्री सम्झौता गर्न आउने प्रवद्र्धकहरु र आयोजनाबाट उत्पादन भएको विद्युतको विल भुक्तानीका लागि समन्वय समितिको बैठक बसालिन्छ ।
‘पीपीए गर्नु अगाडि प्रवर्द्धकहरुले खाजा खुवाउनु पर्छ, बैठक भत्ता तिर्नु पर्छ, आयोजना सञ्चालनमा आएपछि पनि हामीले पेश गरेको बिल भुक्तानीको सिफारिसका लागि बस्ने बैठकमा खाजा खर्च र बैठक भक्ता व्यहोर्नु पर्छ, यसबाट ठूलो खर्च हामीलाई दायित्व परिरहेको छ’, निजी क्षेत्रको एक आयोजनाका प्रमुखले भने ।
पदपूर्ति विभागमा पनि अनावश्यक बैठक राखी भत्ता खाने गरिएको प्राधिकरणका कर्मचारीहरु नै बताउँछन् ।
भत्ता खाने विभागहरुमा विवाद नहोस् र कुराहरु सार्वजनिक नहुन् भनेर भाग मिलाउन क्रियाशील ट्रेड युनियनका सिफारिसमा कर्मचारीहरु राखिने गरिएको बताइन्छ ।
यसैगरी अत्यावश्यक र विशेष कामहरुका लागि कार्यकारी निर्देशकको स्वीकृतिमा मात्र अतिरिक्त समयमा काम गर्न पाउने व्यवस्था गरिएको छ ।
कार्यालयको स्वीकृत दरबन्दी बमोजिम पर्याप्त जनशक्ति अभाव, अत्यावश्यक तथा विशेष कार्यहरु यथाशीघ्र सम्पन्न गर्नु पर्ने अवस्था सिर्जना भएर सार्वजनिक विदाका दिनहरु अतिरिक्त समयमा काम गराउनु पर्ने भएमा सम्बन्धित उपकार्यकारी निर्देशकको सिफारिसमा कार्यकारी निर्देशकको पूर्व स्वीकृति लिएर मात्र काममा लगाउन पाइने छ ।
आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने र व्यवस्थाहरु कार्यान्वयन भए/नभएको प्रशासन निर्देशनालयबाट नियमित अनुगमन गरी आवश्यक कारबाही गर्न प्राधिकरणले निर्देशन दिएको छ ।
हेर्नुहोस् परिपत्रः