आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा सत्तारूढ दलकै सांसदहरूले अविश्वास
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा सत्तारूढ दलकै सांसदहरूले अविश्वास
    • बेल संचार

    • ८ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा सत्तारूढ दलकै सांसदहरूले अविश्वास व्यक्त गरेका छन् ।

सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्ने सत्तारूढ दलका सांसदहरूले नै सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा विश्वस्त हुन नसकेको बताएका हुन् ।

राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले जनताको चाहनाअनुसार राज्यले गर्नुपर्ने दायित्व धेरै भएको भन्दै नीति तथा कार्यक्रम कार्यान्वयन हुन्छ भन्नेमा विश्वस्त नरहेको बताए ।

उनले हरेक वर्ष कार्यान्वयन हुन नसक्ने अवस्था रहेको भन्दै यसवर्ष पनि कार्यान्वयन हुनेमा पूर्ण विश्वस्त हुन नसक्ने बताए । ‘सधैँभर हामीले नीति तथा कार्यक्रमहरू ल्याउँछौँ ।

तर जेठ १५ गते बजेट आउँदैछ, कार्यान्वयन असारको अन्तिमतिर हुन्छ,’ उनले भने ।’

छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य कमला पन्तले नीति तथा कार्यक्रमका विषयहरू सकारात्मक रहे पनि कार्यान्वयन हुनेमा चिन्ता व्यक्त गरिन् ।

कस्तो बजेट आउँछ भन्नेबाट पनि कार्यान्वयनबारे पत्ता लाग्ने उनले बताइन् ।

‘नीति तथा कार्यक्रमका विषयहरू सकारात्मक छन्, चिन्ताको विषय भनेको कार्यान्वयनको नै हो,’ उनले भनिन्, ‘कार्यान्वयन कस्तो हुन्छ र बजेट कसरी ल्याउँछ भन्नेकुरा महत्वपूर्ण कुरा हो ।

’राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनको समस्या भएको बताइन् ।

‘नीति तथा कार्यक्रम समग्ररूपमा धेरै क्षेत्रलाई समेटेर आएको छ,’ उनले भनिन्, ‘यसलाई कार्यान्वयन गर्न सकियो भने संविधानले निर्दिष्ट गरेको कुरालाई अवलम्बन गरेको छ ।

नीति तथा कार्यक्रम कार्यान्वयन हुने किसिमको बजेट विनियोजन गर्नुपर्छ र कार्यान्वयनतर्फ हामी जानुपर्छ ।’

साताकाे चर्चित
सम्बन्धित