सगरमाथा आरोही शेर्पालाई आईएफआरसीका महासचिव चापागाईंद्वारा बधाई
सगरमाथा आरोही शेर्पालाई आईएफआरसीका महासचिव चापागाईंद्वारा बधाई
    • Bell Sanchar

    • ९ जेष्ठ २०८०, मंगलवार

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ टैकुब निवासी मिङमार शेर्पाले विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

जेठ २ गते उनले सगरमाथाको आरोहण गरेका नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । आरोही शेर्पाले आरोहणका क्रममा सगरमाथाको चुचुरोमा रेडक्रसको झण्डा फहराएका थिए ।

सगरमाथा आरोहण गर्न जाने क्रममा शेर्पालाई नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाले रेडक्रसको झण्डा हस्तारण गरेको थियो ।

सोहीअनुरूप उनले आरोहणपश्चात् रेडक्रसको झण्डा फहराएका जनाइएको छ ।

यसैबीच रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईंले सगरमाथा आरोही मिङमार शेर्पालाई विशेष बधाई एवं धन्यवाद दिएका छन् ।

गत वैशाख २८ गते दोस्रो कार्यकालमा लागि चयन भएका महासचिव चापागाईंले सामाजिक सञ्जालमा भनेका छन्, ‘म आरोही शेर्पाले सगरमाथा चुम्न गर्नुभएको अथक प्रयास, मेहनत र उच्च साहसको हृदयदेखि नै सरहना गर्दछु । यसक्रममा आरोही शेर्पाले रेडक्रसको झण्डा सगरमाथामा फहराउनुभएकामा विशेष बधाई एवं धन्यवाद दिन चाहन्छु ।

यसले मानवीय सेवामा अहोरात्र तल्लीन रेडक्रसका स्वयंसेवकलाई अझ ऊर्जा, उत्प्रेरण र आत्मविश्वास बढ्ने छ ।’

मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्वव्यापकताजस्ता रेडक्रसका आधारभूत सिद्धान्तलाई थप बलियो बनाउने उनले प्रतिबद्धता समेत जनाएका छन् ।

आईएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डलका प्रमुख अजमत उल्लालले सगरमाथा आरोही शेर्पालाई बधाई दिएका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘रेडक्रसकर्मी स्वयंसेवकले प्रदर्शन गर्ने सेवारूपी भावना, समर्पण, दया, सहयोग र समुदायप्रतिको उत्तरदायित्वलाई अझ सुदृढ बनाउनुपर्छ ।’

साताकाे चर्चित
सम्बन्धित