गोदावरी–बुढानीलकण्ठ र थानकोट–भक्तपुर मेट्रो रेलका बजेट व्यवस्था होस्: सांसद भट्टचन
गोदावरी–बुढानीलकण्ठ र थानकोट–भक्तपुर मेट्रो रेलका बजेट व्यवस्था होस्: सांसद भट्टचन
    • बेल संचार

    • ११ जेष्ठ २०८०, बिहीबार

काठमाडाैं ।

नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले ललितपुरको गोदावरीदेखि काठमाडौंको बुढानीलकण्ठ तथा काठमाडौंको थानकोटदेखि भक्तपुरसम्म मेट्रो रेल सञ्चालनका लागि बजेट व्यवस्था गर्न माग गरेका छन् ।

सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि बुधवार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै सांसद भट्टचनले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा मेट्रो रेलका लागि रकम छुट्ट्याउन माग गरेका हुन् ।

नेपालका एक प्रतिष्ठित व्यवसायी समेत रहेका भट्टचनले थानकोट–चित्लाङ सुरुङमार्गको काम अगाडि बढाएमा  काठमाडौं उपत्यकाको जनसंख्याको चाप कम हुने सुझाव समेत दिए ।

सांसद भट्टचनले सरकारले अगाडि सारेको नयाँ अवधारणालाई हावादारी भन्न नमिल्ने बताए ।

उनले नेपाली झण्डाअंकित पानीजहाज सञ्चालनका लागि आवश्यक कानूनी बन्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराए ।

कलकत्ता बन्दरगाहमा आउन सक्ने पानीजहाज सञ्चालनमा ल्याउन सकेमा मलेसिया र सिंगापुरबाट हुने ढुवानीका लागि २ अर्ब विदेशी मुद्रा बचत हुने उनको भनाइ छ ।

सांसद भट्टचनले बाग्लुङको ढोरपाटन, राराताल तथा दामोदरकुण्डामा स्तरीय होटल सञ्चालनमा ल्याउन सके पर्यटन वृद्धि हुन सक्ने बताए ।

‘ढोरपाटन एकीकृत गुरुयोजनाका लागि प्रधानमन्त्रीसमक्ष निवेदन गरेका छौं, यसलाई अगाडि बढाउन जरुरी छ,’ उनले भने ।

साथै जलाशययुक्त उत्तरगंगा आयोजनालाई अगाडि बढाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

संसद्मा सम्बोधनका क्रममा सांसद भट्टचनले अन्य दुई गम्भीर विषयमा समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘मुस्ताङमा खम्पा विद्रोह उठेपछि हिमाली क्षेत्रका १३ जिल्लामा हेलिकप्टर सेवा सञ्चालन नभएको अवस्था छ ।

नेपालीलाई नेपालमा जाँदा पनि गृह मन्त्रालय र नागरिक उड्यन प्राधिकरणको सिफारिश तथा जिल्ला प्रशासनको अनुमति लिनुपर्ने आवश्यकता छ ।

पहाडी क्षेत्रमा हेलिकप्टर सेवा सञ्चालनका लागि सहजीकरण गर्न जरुरी छ,’ भट्टचनले भने ।

सांसद भट्टचनले अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण भविष्यमा संवैधानिक संकट आउन सक्नेतर्फ पनि सचेत गराएका छन् ।

‘मैले यसअघि पनि संसदको शून्य समयमा यो कुरा बोलिसकेको छु । मिश्रित निर्वाचन प्रणालीका कारण देशमा ढिलोचाँडो संवैधानिक संकट आउने छ ।

अर्को निर्वाचन हुनुभन्दा केही महिनाअगाडि छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्छ,’ भट्टचनले संसदमा भने ।

साताकाे चर्चित
सम्बन्धित