जनकपुरबाट सुरू भयो कांग्रेस रूपान्तरण पक्षको भेला
    • Bell Sanchar

    • ११ जेष्ठ २०८०, बिहीबार

नेपाली कांग्रेस रूपान्तरण अभियान पक्षले प्रदेश भेला सुरू गरेका छन्।

मधेस प्रदेशको जनकपुरधाममा बिहीबार भेला भएको हो।

भेलामा केन्द्रीय सदस्य मधु आचार्य, चन्द्रमोहन यादव, नेताहरू गुरूराज घिमिरे, लक्ष्मण लाल राय यादव, भूपेन्द्रजंग शाही, जगदीश्वरनरसिंह केसी, जिप्छी यादव, श्याम पटेल, देवराज चालिसे, विष्णुदेवी पाण्डे, नरेश यादवलगायत उपस्थित छन्।

नरेन्द्र नेम्वाङ, बंशीलाल तामाङ, उज्वल बराल, विनोद कायस्थ, कौशलराय यादव, धर्मेन्द्र नेम्वाङ, विनोद खनाल, सुवास लोहनी, दिनेश यादव, सुवास पोखरेल, चिरञ्जीवि हमाल, डिल्ली सुवेदी, युवराज पाण्डे, उमेश मिश्र, कृश्र सिंह, राजेश रौनियार, सैलेन्द्र यादव, मनोजा चौधरी, पिन्टु सिंह, विनोद खनाललगायत पनि भेलामा उपस्थित छन्।

कांग्रेसको वर्तमान नेतृत्वको कार्यशैली सुधार गर्नुपर्ने भन्दै रूपान्तरण अभियानले सातै प्रदेशमा भेलाको मितिसमेत तोकेको थियो।

नेता भूपेन्द्रजंग शाहीले नेताहरूले आफ्ना कुरा राख्ने र प्रदेशभित्रका अगुवा कार्यकर्ताका कुरा सुन्न भेला गरिएको बताए।

‘कांग्रेसको कार्यशैली सुधार गर्नुपर्छ भन्ने अधिकांशको मत पायौं,’ उनले भने, ‘रूपान्तरण अभियानमा मानिसको चासो देखिन्छ।’

सातै प्रदेशमा नेता/कार्यकर्तासँग र जनतासँग पनि छलफल गरिने उनले बताए।

‘नेतृत्वको कार्यशैली सुधार गर्न यसबाट पनि दबाब पुग्छ,’ उनले भने, ‘हामीले रूपान्तरण अभियान गर्दा नेता/कार्यकर्तामा उत्साह देखिएको पायौं। पार्टी सुधार गर्न अब ढिला गर्न हुन्न भन्ने सबैको धारणा छ।’

कांग्रेसले गत वैशाख १० मा भएको उपनिर्वाचनमा तनहुँ १ गुमाएको थियो। गत मंसिरको चुनावमा कांग्रेसबाट रामचन्द्र पौडेल यो क्षेत्रबाट विजयी भएका थिए।

गठबन्धन गर्दा पनि कांग्रेसले गत निर्वाचनहरूमा अपेक्षाअनुसार मत ल्याउन सकेको थिएन। कांग्रेसले गत वर्ष साउनदेखि केन्द्रीय समिति बैठकसमेत राखेको छैन।

नीति अधिवेशन, चुनावी समीक्षा, भ्रातृ संघसंस्था र विभागलाई पूर्णता दिनेजस्ता काम सभापति शेरबहादुर देउवाले अघि बढाएका छैनन्।

कांग्रेस रूपान्तरण अभियानले सभापति र पार्टीका पदाधिकारीलाई प्रदेश भेलाहरूमा नबोलाउने भएको छ।

साताकाे चर्चित
सम्बन्धित